
काठमाडौं, १९ असार– सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग तथा तीन देशमा राजदूत नियुक्तिको तयारी गरेको छ । हाल रिक्त रहेका भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)स्थित दूतावासमा राजदूत नियुक्तिको तयारी भएको हो ।
यसका लागि सरकारले संसदीय सुनुवाइ समिति पर्खेको छ । ‘संसदीय सुनुवाइ समिति गठन भएलगत्तै हामी रिक्त रहेका नियोगमा राजदूत नियुक्त गर्छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘त्यतिवेलासम्म सरकारले राजदूत नियुक्तिसम्बन्धी मापदण्ड पनि टुंग्याउनेछ ।’
उनका अनुसार परराष्ट्र मन्त्रालयले राजदूतको योग्यतालगायतको मापदण्ड तयार गरेको छ र मन्त्रिपरिषद्ले पारित गर्नेछ ।
कुटनीतिक श्रोतका अनुसार सरकारले भारत र मलेसियामा परराष्ट्र सेवा बाहिरबाट राजदूत पठाउने छ भने न्युर्योकस्थित नियोगमा युएईमा परराष्ट्र सचिवलाई पठाउने छ ।
भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रती, पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको नाम पनि चर्चामा छ ।, नयाँ पत्रिकामा खबर छ।