
दार्चुला, १९ असार -महाकाली नगरपालिका–४ खलंगामा बस्दै आएका १२ वर्षीय अजय लुहार, ९ वर्षीय रेश्मा लुहार अहिले पनि विद्यालय जाँदैनन् । भर्ना अभियानको बेला उनीहरूको नाम कैलाशपति निमावि छांगरुमा लेखिएको छ । भर्ना भइसकेपछि भने उनीहरू विद्यालय जाँदैनन् । विद्यालयले उनीहरूलाई विद्यालय आउनमा प्रेरित गर्दै गरेन ।
दार्चुला दुहुँ गाउँपालिका–५ घर भई हाल खलंगामा बस्दै आएका किन्ते लुहारका छोराछोरी हुन् यी दुवै । अझै उनका दुई जना छोराछोरी छन् । ६ वर्षीय सन लुहार र ४ वर्षीय सुजल लुहार घरमै छन् । विद्यालयमा नाम लेखाएका छोराछोरीको नियमित पढाइ हुन सकेको छैन । ‘दिनभर नदी किनारमा बालुवा गिट्टी खोज्दै मजदुरी गर्नुपर्छ,’ किन्तेले भने, ‘छोराछोरी पढाउन आर्थिक अभाव छ, बर्खा लागेको बेला बालुवा झिक्न सकिँदैन् । बालुवा बिक्री गर्न नपाएको दिन छाक टार्न मुस्किल छ ।’
उनको गरिबीका कारणले छोराछोरी विद्यालय जान नसकेका हुन् । उनले थपे, ‘पेट पाल्नै नसकिने अवस्थामा छोराछोरी कसरी विद्यालय पठाउनु ?’ यो त सदरमुकाम खलंगाको प्रतिनिधि घटना मात्रै हो । यस्ता विद्यार्थी जिल्लाभरि थुपै्र छन् । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरका बादी समुदायका छोराछोरी हुन् वा गैरदलित गरिब परिवारका छोराछोरीलाई अभिभावकले नियमित विद्यालय पठाउन सकेका छैनन्, अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।