काठमाडौं, ३ फागुन — भारतको राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेता आशिष विद्यार्थीले फिल्महरूमा खेल्ने क्रममा १८२ चोटि मर्नुपरेको छ ।

प्रायः फिल्ममा भिलेनको रोल खेल्ने आशिषले हालै एक अन्तर्वार्तामा आफ्नो फिल्मी मृत्युका बारेमा रमाइलो कुरा बताएका थिए । ‘कहिलेकाहीँ त निर्देशकहरू नै यसलाई कुन नयाँ तरिका अपनाएर मार्ने होला भनी चिन्तित हुन्थे,’ उनले भने ।
हरेकचोटि नकारात्मक भूमिका खेल्दा जीवनमा धेरै कुरा सिक्न पाइएको आशिषले बताए ।
सन् १९६२ मा केरलमा जन्मिएका आशिष बलिउडका प्रसिद्ध खलनायक हुन् । फिल्म द्रोहकालका लागि उनले बेस्ट सपोर्टिङ एक्टर क्याटेगोरीमा नेसनल अवार्ड जितेका थिए ।
उनकी आमा रेबा बंगाली मूलकी कत्थक डान्सर हुन् भने उनका पिता गोविन्द विद्यार्थी मलयाली थिएटरका प्रसिद्ध कलाकार हुन् ।
छत्तीसगढमा बलिउड डायरी नामक फिल्मको शूटिङका बेलामा उनका एक साथी कलाकारसँगै उनी पनि झण्डै डुबेका थिए । शूटिङमा उनले पानीभित्र पस्नुपर्ने थियो तर यो क्रममा उनी गहिरो ठाउँमा पसेछन् र डुब्न थालेछन् ।
शुरुमा त मानिसहरूले यो फिल्मकै सीन होला भन्ठानेर मद्दत गरेनन् । तर पछि प्रहरी विकास सिंहले उनलाई बचाए ।
दैनिक भास्करबाट