
काठमाडौं, २२ असार – रुसमा जारी फिफाविश्वकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा शुक्रबार उपाधिका प्रबल दाबेदारद्वय ब्राजिल र बेल्जियम आमनेसामने हुँदैछन् ।
खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुनेछ । यो खेललाई 'मिनी फाइनल'का रूपमा समेत हेरिएको छ ।
ब्राजिल मेक्सिको र बेल्जियम जापानलाई पराजित गर्दै अन्तिम ८ मा पुगेका हुन् । जारी प्रतियोगितामा दुबै टोली अपराजित छन् । बेल्जियमले सबै खेल जित्दा ब्राजिलले १ खेलमा बराबरीमा चित्त बुझाएको छ ।
बेल्जियम आफ्नो फूटबल इतिहासकै सबैभन्दा उत्कृष्ट लयमा देखिएको छ । दुवै टोली निकै सन्तुलित पनि छन् ।
इतिहास ब्राजिलको पक्षमा
यी दुई टीम हालसम्म ४ पटक आमनेसामने भएका छन् । त्यसमध्ये ३ पटक ब्राजिलले बाजी मार्दा १ खेल बेल्जियमले जितेको छ ।
सन् १९६३ मा भएको शुरुवाती भिडन्तमा बेल्जियमले ५-१ ले ब्राजिललाई निराश बनाएको थियो । त्यसको २ वर्षपछि ब्राजिलले ५-० को नतिजा निकाल्दै बदला लियो ।
त्यसपछि १९९८ र २००२ मा भएका दुवै खेल ब्राजिलले २-१ र २-० ले जितेको छ ।
अन्तिम पटक सन् २००२ को विश्वकपमा भेटिएका यी दुई टोलीले एकअर्कासँग १६ वर्षपछि खेल्दैछन् ।
हेर्नलायक खेलाडी
नेयमार, ब्राजिल
नेयमार जुनियर ब्राजिली टीमका सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । अघिल्लो पटक नै यी स्टारले विश्वकप जिताउने आशा ब्राजिली समर्थकको थियो । तर नेयमार घाइते भएपछिको खेलमा जर्मनीसँग लज्जास्पद् हार बेहोर्दै ब्राजिलको विश्वकप सपना तुहियो ।
रुस विश्वकपको शुरुवाती खेलमा अपेक्षित प्रदर्शन नगरे पनि त्यसयता नेयमार लयमा देखिएका छन् । अन्तिम खेलमा मेक्सिकोलाई हराउने क्रममा नेयमारले एक गोल गरेका थिए भए अर्को गोलमा पास मिलाएका थिए ।
रुस पुगेयता ब्राजिलले पहिलो पटक आफू बराबरको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । यति महत्त्वपूर्ण खेलमा नेयमारको प्रदर्शनले नतिजामा धेरै हदसम्म प्रभाव पार्नसक्ने देखिन्छ ।
रोमेलु लुकाकु, बेल्जियम
बेल्जियमको टोलीका लागि रोमेलु लुकाकुको प्रदर्शन निकै ठूलो महत्त्वपूर्ण छ ।
टोलीमा इडेन हजार्ड, केभिन डी ब्रुयनेजस्ता उत्कृष्ट खेलाडी छन् । उनीहरूले मिलाएको पासलाई गोलको दिशा दिन लुकाकुको आवश्यकता छ ।
इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट व्यवसायिक फूटबल खेल्ने लुकाकु डी बक्समा निकै प्रभावकारी मानिन्छन् । शारिरिक रूपमा पनि बलिया लुकाकुसँग बललाई जाली चुमाउने क्षमता अब्बल छ ।
जारी प्रतियोगितामा ४ गोल गरेका लुकाकु गोल्डेन बूटको रेसमा पनि छन् ।
डिफेन्स vs एट्याक
टिटेले जिम्मेवारी सम्हालेयता ब्राजिलियन टीम डिफेन्समा निकै बलियो देखिएको छ ।
जारी विश्वकपमा पनि उसले एक गोलमात्र खाएको छ । पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेलेको ब्राजिलले त्यसयता गोल खाएको छैन ।
अर्कातर्फ रोबर्टो मार्टिनेजको बेल्जियन टोली एट्याकमा निकै अब्बल छ । विश्वकप छनोटका १० खेलमा ४३ गोल गरेको बेल्जियमले जारी विश्वकपका ४ खेलमा १२ गोल गरिसकेको छ ।
अझै महत्त्वपूर्ण त राउण्ड अफ सिक्स्टिनअन्तर्गतको खेलमा जापानविरुद्ध दोस्रो हाफमा २-० ले पछि परेको टोलीले निर्धारित समयमै ३ गोल गर्दै खेल जितेको थियो ।
पछाडि परेको अवस्थाबाट कमब्याक गर्दै दर्ता गरेको यो जीतले बेल्जियमको मनोविज्ञान निकै उच्च बनाएको छ ।