
काठमाडौं, २२ असार – मुस्ताङमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो । दुर्घटनामा ११ पुरुष र ४ महिलाको मृत्यु भएको प्रहरी हवल्दार कृष्णगोपाल परियारले बताए । उनका अनुसार १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
जिल्ला सदरमुकाम टाढा भएकाले गम्भीर घाइतेलाई उपचारमा लैजान हेलिकोप्टर बोलाइएको जनाइएको छ । उपल्लो मुस्ताङको भेना भीरदेखि जैतुसम्मको सडक निर्माणमा काम गरिरहेका मजदुर बोकेको ट्रिपर स्याङ्बोचेमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र खड्काले बताए ।
‘घटनाको विस्तृत विवरण आएको छैन,’ उनले भने, ‘उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर आउँदैछ ।’ घटनास्थल मुस्ताङ जिल्ला सदरमुकामबाट करीब ५० किलोमिटर टाढा पर्छ ।