
काठमाडौं, २२ असार– सर्वोच्च अदालतले काठमाडौंको माइतीघर मण्डला लगायतका क्षेत्रमा निषेधाज्ञा लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।
सर्वोच्चले यस सम्बन्धमा छलफलका लागिदुवै पक्षलाई असार २९ गते शुक्रवार बोलाएको रिट दायर गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकान्तरलाई जानकारी दिए ।
सर्वसाधारणको आवागमनमा समस्या परेको भन्दै सरकारले माइतीघर मण्डला लगायतका काठमाडौंका मुख्य चोकमा विरोध प्रदर्शन गर्न रोक लगाएको थियो ।
मण्डला लगायतका क्षेत्रमा निषेधाज्ञा लगाएर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले विरोध प्रदर्शन गर्नेमाथि धरपकड नगर्न पनि सरकारलाई भनेको छ ।