
काठमाडौं, २२ असार – बीसौं शताब्दीका आध्यात्मिक गुरु, सन्त तथा योगी परमहंस योगानन्दमाथि बनेको फिल्म दी आन्सर भदौमा आउने भएको छ ।
गोरखपुरमा जन्मेर सन् १९२० मा अमेरिका गएका योगानन्द मृत्युपर्यन्त त्यहीँ बसे । उनको अटोबायोग्राफी अफ अ योगी पुस्तक अत्यन्तै लोकप्रिय रह्यो ।
फिल्ममा योगानन्दको भूमिका भिक्टर बनर्जीले खेलेका छन् । यसमा योगानन्दका भक्त डोनल्ड वाल्टर्सको जिन्दगी पनि देखाइएको छ । पछि उनी धर्म परिवर्तन गरेर स्वामी क्रियानन्द बनेका थिए ।
पवन कौलले फिल्मको निर्देशन गरेका हुन् ।
हालैका महिनामा सुभाष घई र कमलेश पाण्डेले आध्यात्मिक गुरु ओशोमाथि फिल्म बनाउने घोषणा गरेका थिए । अनि जग्गी वासुदेव अर्थात् सद्गुरुमाथि पनि फिल्म बन्ने भएको छ ।
एजेन्सी