
काठमाडौं, २२ असार– फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ मस्कोस्थित निझ्नी नोभ्गोरोद रंगशालामा सम्पन्न खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै फ्रान्सले विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
फ्रान्सको जितमा खेलको ४० औं मिनेटमा राफेल वराने र ६१ औं मिनेटमा एन्टोनी ग्रिजमानले गोल गरे ।
उरुग्वेका खेलाडी रोड्रिगोले फ्रान्सेली खेलाडीलाई लडाएपछि उनलाई रेफ्रीले पहेलो कार्ड दिँए । योसँगै ३० यार्ड परबाट ग्रिजम्यानले हानेको फ्रिकिक बललाई राफेलले हेडमार्फत जाली चुमाए । उनको यो टीमका लागि तेस्रो अन्तराष्ट्रिय गोल हो भने जसमा ग्रिजम्यानले नै दुई ओटा पास दिलाइदिएका थिए ।
यस्तै ग्रिजम्यानले खेलको ६१ औं मिनेटमा अर्को गोल गरे । तोलिसोको पासमा ग्रिजम्यानले हानेको प्रहार उरुग्वेका किपरले रोक्ने प्रयास गरेपनि भुत्किँदै गोलमा परिणत हुन पुग्यो ।
त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि फ्रान्स २–० ले विजयी हुन पुगेको हो ।













