
सुर्खेत, २३ असार – कर्णाली प्रदेशलाई समृद्ध बनाउन पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
कर्णालीमा पर्यटनको असाध्यै सम्भावना भएको बताउँदै कार्यक्रमका सहभागीले नेपाल पर्यटन बोर्ड र कर्णाली प्रदेश सरकारको सहकार्यमा नयाँ विकल्प खोज्ने र त्यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लाग्नुपर्ने बताए ।
आज वीरेन्द्रनगरमा नेपाल पर्यटन बोर्डद्वारा आयोजित आर्थिक वर्ष २०७५/७६ को बजेटबारे अन्तक्र्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसायी चिन्तामणि शर्माले बोर्डले नै कर्णाली प्रदेशमा पर्यटकीय क्षेत्रको विकास गर्न सक्रियता देखाउनुपर्ने बताए ।
‘यसअघि हामीलाई बोर्डको कार्यालयसम्म पुग्न धौ–धौ हुने गर्दथ्यो,’ उनले भने, ‘आगामी दिनमा त्यस्तो नहोस् ।’ कर्णालीमा थुप्रै पर्यटकीय गन्तव्य भएपनि पर्यटकीय स्थलको इतिहास र जानकारी कतै नभेटिँदा समस्या हुने गरेको उनले बताए । ‘तिनको इतिहास के हो ? लिपिवद्ध गर्न जरुरी छ,’ उनले भने । पर्यटकीय स्थललाई प्रोफाइलसहित प्रचारप्रसार गर्न सके पर्यटक आकर्षित गर्न सकिने बताए ।
कर्णालीमा अहिले पनि विभिन्न खालका पर्यटकीय गन्तव्य लुकेर रहेको पत्रकार त्रिभुवन बिसीले बताए । ‘हामी पर्यटकीय क्षेत्रमा अत्यन्तै धनी छौं,’ उनले भने, ‘तर, अब ती पर्यटकीय क्षेत्रको पहिचान गरेर प्रचारप्रसारमा ध्यान दिनुपर्छ र पूर्वाधार विकासको तीव्र तयारी गर्नुपर्छ ।’
कार्यक्रममा पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले कर्णालीमा पर्यटन विकासका लागि सम्भावना सहितको थुप्रै चुनौति रहेको बताए । कर्णालीमा पर्यटक आएपनि उनीहरू गाइडको आवश्यकता रहने बताए । ‘विदेशी पर्यटक आएमा उनीहरूलाई उचित गाइडसहित म्यापको आवश्यक पर्छ,’ उनले भने ।
नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य कृष्णकुमार अर्यालले पर्यटनसँग सम्बन्धित बन्ने नीति तथा नियम सहज बनाउन प्रदेश सरकारलाई आग्रह गरे । सरकारको नीति सहज भए मात्र पर्यटनको विकासमा फड्को मार्न सक्ने उनले बताए । प्रदेश सरकारले आफ्नो नीति आफै बनाउने हुँदा पर्यटनका क्षेत्रमा भएका नीतिगत समस्या सल्टाउन समेत उनले सरकालाई आग्रह गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटकलाई जबर्जस्ती आउनेभन्दा पनि स्वस्फूर्तरुपमा आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । ‘पर्यटकलाई चाहिने आवश्यक पूर्वाधार तयार गर्न प्रदेश सरकार लाग्नुपर्ने छ,’ उनले भने, ‘अहिले आन्तरिक र बाह्य पर्यटकलाई टिकटमा भएको विभेदलाई हटाउनुपर्छ ।’
हामी सशक्त रुपमा लागेका छौं : मन्त्री बुढा
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पर्यटनको विकासका लागि सरकार सशक्त रुपमा लागेको बताए । ‘कर्णालीमा पर्यटनको मुख्य आधार भएकाले अहिले तत्काल प्रदेश सरकारले झण्डै ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘बजेटबाट कर्णालीमा रहेका पर्यटकीय स्थल वा त्यहाँसम्म पुग्ने पहुँचका लागि पूर्वाधार तयार गर्ने छौं ।’
मन्त्री बुढाले निजी क्षेत्रसँग सहकार्य गरेर कर्णाली प्रदेशलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सरकार लागि परेको बताए । ‘अहिले पूर्वाधार विकासमा सरकार केन्द्रित भएको छ,’ उनले भने, ‘आन्तरिकभन्दा बाह्य पर्यटक भित्र्याउने गरी प्रदेश सरकार लागि परेको छ ।’