१५ असार २०८३, सोमबार

लगातार चौथोपटक विश्वकपको उपाधि युरोपमै रहने पक्का

लगातार चौथोपटक विश्वकपको उपाधि युरोपमै रहने पक्का

काठमाडौं, २४ असार – फिफा विश्वकप फूटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

गएराति सम्पन्न खेलमा स्विडेनलाई हराउँदै इंग्ल्याण्ड र आयोजक रुसलाई हराउँदै क्रोएसियाले सेमीफाइनल यात्रा तय गरेसँगै विश्वकपको सेमीफाइनल समीकरण पूरा भएको हो ।

बेल्जियम र फ्रान्स शुक्रवार नै सेमीफाइनलमा पुगिसकेका छन् । फाइनल प्रवेशका लागि बेल्जियम र फ्रान्स तथा इंग्ल्याण्ड र क्रोएसियाबीच खेल हुनेछ ।

यससँगै अर्को के पनि निधो भएको छ भने, लगातार चौथोपटक विश्वकपको उपाधि युरोपमै रहनेछ ।

यसअघि सन् २००६ मा इटाली, २०१० मा स्पेन र २०१४ मा जर्मनीले विश्वकप उपाधि जितेका थिए । सन् २००२ मा ब्राजिलले विश्वकप जितेयता सबै उपाधि युरोपमै रहँदै आएको छ ।

यसपटक पनि सेमीफाइनल पुगेका सबै टोली युरोपियन हुन् । बेल्जियम, फ्रान्स, इंग्ल्याण्ड र क्रोएसिया जसले जिते पनि उपाधि युरोपमै रहनेछ ।

हालसम्म भएका २० वटा विश्वकपमध्ये युरोपेली मुलुकले ११ र दक्षिण अमेरिकी मुलुकले ९ पटक उपाधि उचालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्