०५ साउन २०८३, मंगलबार

रुस विश्वकपमा फ्लप रहे यी टीम, देखाउन सकेनन् जादू यी खेलाडीले

रुस विश्वकपमा फ्लप रहे यी टीम, देखाउन सकेनन् जादू यी खेलाडीले

काठमाडौं, २४ असार – रुसमा फिफा विश्वकप शुरू हुँदा जर्मनी, ब्राजिल, अर्जेन्टिना र उरुग्वे निकै माथि पुग्ने आशा गरिएको थियो । यी सबै टोली विश्वविजेता रहिसकेकाले उनीहरूमाथि प्रशंसकले धेरै आशा राखेका थिए ।

ब्राजिल
सबभन्दा धेरै पाँचचोटि विश्वकप जितेको टीम ब्राजिल क्वार्टरफाइनलबाट घर फर्कियो । अचम्मको कुरा त, सेमिफाइनल जम्मा एकचोटि पुग्न सफल भएको बेल्जियमले उसलाई हराइदियो । ब्राजिललाई २–१ ले हराएर बेल्जियमले तहल्का मच्चाएको हो । 

जर्मनी
ब्राजिलपछि सबभन्दा धेरैपटक विश्वकप जित्ने टीम जर्मनी यो प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । अघिल्लो संस्करणको विश्वविजेताले मेक्सिको र दक्षिण कोरियासँग हारेर छिट्टै घर फर्कनुपरेको हो । स्विडेनलाई हराएपनि जर्मनीको समग्र प्रदर्शन राम्रो रहेन । 

अर्जेन्टिना
अर्जेन्टिनामा स्टार स्ट्राइकर लियोनेल मेस्सी भएकाले टीम जेजस्तो भएपनि विश्वविजेता बन्ला भनी धेरैले अनुमान गरेका थिए । हुन त अर्जेन्टिना फूटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो तापियाले अर्जेन्टिनाको लक्ष्य सेमिफाइनल पुग्नु हो भने पनि टीम समूह चरण बल्लबल्ल पार गर्न सफल भयो अनि अन्तिम १६ मा पराजय बेहोर्न बाध्य भयो । समूह चरणको खेलमा ऊ क्रोएसियासँग पराजित भयो भने अन्तिम १६ मा फ्रान्सले उसलाई हरायो । यो प्रतियोगितामा उसले नाइजेरियालाई मात्र हराउन सक्यो अनि आइसल्यान्डसँग बराबरी खेल्यो । 

उरुग्वे
समूह चरणमा सबै खेल जितेको उरुग्वेले प्रिक्वार्टरफाइनलमा पोर्चुगललाई हराएपछि त विश्वकपको दाबेदारका रूपमा हेरिन थालियो । तर क्वार्टरफाइनलमा उसलाई फ्रान्सले हराइदियो । स्टार स्ट्राइकर एडिनसन कवानी घाइते भएर खेल्न नसक्दा उरुग्वे क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य भयो । अठसट्ठी वर्षपछि उपाधि जित्ने उसको सपना चकनाचुर भयो । 

नामी खेलाडीले पनि देखाउन सकेनन् जादू
यिनै टीमका केही खेलाडीमाथि प्रशंसकहरूले धेरै आशा राखेका थिए । ब्राजिलका नेयमार, जर्मनीका टमस मुलर, उरुग्वेका लुइस सुआरेज र अर्जेन्टिनाका लियोनेल मेस्सीले विश्वकपमा अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेनन् । 

नेयमार
फूटबल जगतका सुपरस्टार र सबभन्दा महंगा खेलाडी नेयमारले यो विश्वकपमा पाँच खेलमा दुई गोल मात्र गरे । उनले २७ पटक गोलको मौका बनाए अनि त्यसमा १३ शट टार्गेटमा थियो । तर ती सबै शट गोलमा परिणत हुन सकेनन् । 

मुलर
टमस मुलरले जर्मनीका लागि तेस्रो विश्वकप खेले । यो विश्वकपमा भाग लिएका खेलाडीमध्ये सबैभन्दा बढी १० गोल गरेका मुलरले प्रतियोगितामा एक गोल पनि गर्न सकेनन् । यी फ्लप भएकाले पनि जर्मनी पहिलो चरणमै बाहिरियो । 

सुआरेज
लुईस सुआरेजले उरुग्वेका लागि यो विश्वकपमा दुई गोल हानेपनि फ्रान्सविरुद्धको महत्त्वपूर्ण क्वार्टरफाइनल खेलमा गोल गर्न सकेनन् र टोली प्रतियोगिताबाट बाहिरियो । 

मेस्सी
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेस्सीले चार खेलमा जम्मा एक गोल गरेर प्रशंसकहरूलाई निराश बनाए । उनी सबै म्याचमा गोल गर्न संघर्षरत देखिए भलै नाइजेरियाविरुद्धको खेलमा उनको गोल उत्कृष्ट थियो । उनले १७ चोटि गोल गर्ने मौका पाएकोमा ६ शट चाहिँ टार्गेटमा थियो तर जम्मा एक गोल गरे ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्