
काठमाडौं, २४ असार – चारैतिर ग्रिनेड विस्फोट भइरहेका छन्, आँसुग्यासका गोलाले धुँवा छोडिरहेका छन्, गोलीहरू भटटट चलिरहेका छन् अनि स्नाइपर राइफलको गोली चलिरहेका छन् । यस्तोमा मृत्युबाहेक केही देखिन्न ।
तर सामाजिक सञ्जालमा अहिले मृत्युको अगाडि नाचिरहेको भिडियो भाइरल भइरहेको छ ।
यो प्यालेस्टाइनी शान्ति कार्यकर्ताको भिडियो हो । उनीहरू इजरायली सैनिकको गोलीको आवाजमा अरबी लोकनृत्य गरिरहेका छन् । युद्धभूमिका तमाम हालतका बीच प्यालेस्टाइनको गाजा इलाकामा शान्ति कार्यकर्ताले शान्तिपूर्ण विरोध कायम राखेका छन् ।
भिडियोमा देखिएको नाच डबके भनी चिनिन्छ । विरोध प्रदर्शनका रूपमा गरिएको नृत्य प्यालेस्टाइनी शरणार्थी र उनीहरूका परिवारलाई फेरि इजरायलमा सेटल गराउनका लागि गरिएको हो ।
एजेन्सी