
सुर्खेत, २४ असार– विगत पाँच दिनदेखि आमरण अनशनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको आज (आइतवार) अनशन तोडाइएको छ । विश्वविद्यालयकाे वार्ता टोलीले अनशनरत तीनजना विद्यार्थीहरु (रोसन बस्नेत, मिलन विसी र रतन कुमार शर्मा) लाई जुस खुवाएर अनशन तोडाएकाे हाे ।
विद्यार्थी र विश्वविद्यालयको वार्ता टोलीबीच झण्डै १० घण्टाको वार्ता पश्चात सहमति गर्न सकिएको विश्वविद्यालयका तर्फबाट वार्ताटोली सदस्य रहेका गणेश कार्कीले लोकान्तरलाई बताए । उनका अनुसार विद्यार्थी र प्रशासन बीच १७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमतिमा इन्जिनियरिंङसंकाय अन्तर्गतको बीर्इ हाइड्रोपावरको पूर्ण पाठ्यक्रम तयार गरी चालू चौथो सेमेस्टरको सत्रान्तसम्म आवश्यक प्रक्रिया पूरा गरी वितरण गर्ने, संकायमा उपलब्ध साधनहरुको पूर्ण रुपमा प्रयोग गरी प्रयोगात्मक ल्यावहरुको तीन महिना भित्र व्यवस्थापन गर्ने सहमति भएको छ ।
यस्तै, हाल केन्द्रीय विश्वविद्यालयमा रहेको केन्द्रीय पुस्तकालयको इन्जिनियरिङ्ग संकायमा के कति पुस्तकहरु छन्, त्यसको रेकर्ड निकाल्दै आवश्यक पाठ्यपुस्तकको व्यवस्था गर्ने र संकायमा अध्ययनरत विद्यार्थीहरुलाई एकपटकमा बढीमा नौ वटा पुस्तकहरु दिने, संकायमा नियमित पठन पाठन गराईने, दलित, पिछडिएका, महिला, जनजाति आदि जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न संकायका डीनको संयोजकत्वमा रहने गरी क्याम्पस प्रमुख र उपकुलपतिबाट तोकेको एक व्यक्ति सदस्य रहने र त्यसले सम्भाव्यता अध्ययन गर्ने, नियमित पठन पाठन गराउन शैक्षिक प्रयोजनकालागि छुट्टै एक भवन अविलम्व भाडामा लिएर सञ्चालन गर्ने सहमति भएको छ ।
त्यस्तै, वार्ता टोलीबीच इन्जिनियरिङ संकाय अन्तर्गतका कार्यक्रमहरुलाई मुसुम प्रणालीमा संचालन गर्न संकायका डीन गोविन्द प्रसाद लामीछानेको संयोजकत्वमा सम्भाव्यता अध्ययन कार्यदल गठन गर्ने साथै निकाय शैक्षिक, प्राज्ञिक, अार्थिक, प्रशासनिक, पूर्वाधार र जनशक्ति व्यवस्थापनका दृष्टिले आत्मनिर्भर भएमा क्रमशः विकेन्द्रीकरण गर्दै लैजाने, संकायका थप ४८ जना विद्यार्थीहरुका लागि आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी १० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने कार्यकारी परिषदमा सिफारिस गर्ने, अनसनमा बसेका विद्यार्थीहरुलाई अनसन तोड्न र संघर्षरत पक्षले समग्र निकायमा लगाएको ताला खोल्ने, संकायमा अध्ययनरत विद्यार्थीहरु र विश्वविद्यालयका पदाधिकारीहरुसँग शैक्षिक, प्राज्ञिक र प्रशासनिक उन्नयन र विकासको लागि नियमित छलफल र सम्पर्कमा रहि विश्वविद्यालयको वृहत्तर हितमा केन्द्रीत हुने, संकायले सञ्चालन गर्ने गोल्डेन चान्स परीक्षाको बारेमा अध्ययन गर्न डीन गोविन्द प्रसाद लामीछानेलाई जिम्मेवारी दिने, संकायका विद्यार्थीहरुले गरेका संघर्षका कार्यक्रमका विषयमा छलफल र वार्तामार्फत सहमति खोजी अनशन लगायतका कार्यक्रम फिर्ता लिन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने सहमति भएको छ । साथै तोकिएको समयमा सहमति भएका बुँदाहरु कार्यान्वयन नभए त्यसको जिम्मेवारी विश्वविद्यालयले लिने पनि सहमतिमा उल्लेख छ ।