काठमाडौं – थाइल्यान्डको गुफामा फसेका १२ किशोरमध्ये ११ को उद्धार भएको समाचार संस्था रोयटर्सले लेखेको छ ।
विगत दुई हप्तादेखि १२ किशोर र उनीहरूका प्रशिक्षक गुफामा फसेका थिए । आज बेलुकासम्ममा सबैजनालाई उद्धार गरिने अपेक्षा गरिएको छ ।
रोयटर्सका एक प्रत्यक्षदर्शीले थाम लुआङ गुफामा तीनजनालाई फरक फरक स्ट्रेचरमा हालेर बाहिर ल्याइउको बताए । उद्धार अभियानको आज तेस्रो दिन हो ।
आठ किशोरलाई अघिल्ला दुई दिनमा चार–चारजना गरी स्ट्रेचरमा हालेर बाहिर ल्याइएको थियो ।
कसलाई बाहिर ल्याइएको हो भन्ने विषयमा टिप्पणी गर्नका लागि अधिकारीहरू उपलब्ध भएनन् ।
अभियान प्रमुख नारोङसाक ओसोत्तानाकोर्नले अन्तिम अभियान थप चुनौतीपूर्ण हुने किनकि गुफामा फसेका बाहेक उनीहरूसँग भएका तीन नेभी सीललाई बाहिर ल्याउनुपर्ने बताएका छन् ।
उद्धारकर्ताहरूले अनुभवबाट सिक्दै सोमवार निर्धारित समयभन्दा दुई घन्टाअघि नै गुफामा फसेकाहरूलाई बाहिर ल्याएका छन् ।