३१ जेठ २०८३, आइतबार

वैज्ञानिकहरूले पत्ता लगाए संसारको सबभन्दा पुरानो रंग

वैज्ञानिकहरूले पत्ता लगाए संसारको सबभन्दा पुरानो रंग

काठमाडौं – वैज्ञानिकहरूले भौगर्भिक अभिलेखमा रहेको संसारको सबभन्दा पुरानो रंग पत्ता लगाएका छन् । लगभग १.१ अर्ब वर्ष पुरानो यो चम्किलो गुलाबी रंग अफ्रिकाको सहारा मरुभूमिको निकै तल भेटिएका चट्टानबाट निकालिएको हो । 

अस्ट्रेलियन नेसनल युनिभर्सिटीकी नूर गुएनेलीले यो रंग पश्चिम अफ्रिकाको मउरिटानियामा ताओदेनी बेसिनको समुद्री कालो पत्थरबाट लिइएको र पहिला भेटिएका रंगहरूभन्दा ५० करोड वर्ष पुरानो रहेको बताइन् । 

उनले भनिन्, ‘यी चम्किला रंगहरू क्लोरोफिलका मोलिक्युलर जीवाश्म हुन् जसको उत्पादन समुद्रमा बस्ने प्राचीन प्रकाशसंश्लेषक जीवहरूले गरेका हुन् । यी जीवहरूको अस्तित्व लामो समयसम्म नरहेपनि रंग चाहिँ त्यहाँ कायम थियो ।’

पीएनएएस पत्रिकामा छापिएको अध्ययनअनुसार, जीवाश्मबाट प्राप्त रंग गाढा रातो रंगदेखि बैगनी रंग गाढा रूपमा उपस्थित थिए तर तिनलाई तरल पदार्थ हालेर पातलो बनाउँदा चम्किलो गुलाबी रंग बन्यो । 

नूरले भनिन्, ‘प्राचीन रंगहरूको विश्लेषणबाट करीब एक अर्ब वर्षअघि साना ब्याक्टेरियाहरू समुद्रमा खाद्यशृंखलाका आधार थिए भनी पुष्टि गरेको छ । यसबाट त्यतिखेर पशुहरू अस्तित्वमा किन थिएनन् भन्ने कुरा जान्न सहयोग पुग्नेछ ।’

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्