
काठमाडौं – फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा बुधवार क्रोएसिया र इङ्ग्ल्याण्ड आमनेसामने हुँदैछन् ।
खेल राति पौने १२ बजे शुरु हुनेछ । सेमीफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ ।
क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको छ भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।
सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमीफाइनलसम्म पुगेको थियो । त्यसयता क्रोएसिया सेमीफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमीफाइनल खेल्दैछ ।
सन् १९९० मा पछिल्लो पटक सेमीफाइनल खेलेको इङ्ग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो भने इङ्ग्ल्याण्डको यो तेस्रो सेमीफाइनल खेल हो ।
अहिले विश्वकपमा क्रोएसिया र इङ्ग्याण्ड पहिलो पटक भिड्न लागेको हो । यसअघि सन् २००४ को भएको युरोकपमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।
यी दुई टोलीले अहिलेसम्म सात खेल खेलेकामा इङ्ग्ल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले दुई खेल जितेको छ । मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
यी दुई टोली क्रोएसिया र इङ्ग्लयाण्डबीचको विजेताले फाइलनमा फ्रान्ससँग खेल्नेछ ।