तौलिहवा: जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ।सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका-१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानीय जवई खोलामा शव फेला परेको समाचार आजको अन्नपूर्ण पोस्ट्ले छापेको छ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकलाई वुधबार थप अनुन्धान सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए।
मृतक नाबालिका स्थानीय विद्यालयमा एल केजीमा अध्ययनरत थिईन्। उक्त घटना पछि चन्द्रौटा क्षेत्रमा रहेका सवै विद्यालय बन्द गरी घटनामा संलग्न रहेका उपर कडा कारवाहीको माग गरेका छन्।
मृतक नाबालिकाका अभिभावकहरु सामान्य किराना पसले हुन्। आफ्नी छोरी उपर भएको जघन्य पशुवत व्यवहार पछिको हत्यामा संलग्नलाई हदै सम्मको कारवाहीका लागि जिल्लाका विभिन्न संघ संस्था एवं मानवअधिकारवादीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
उक्त विभत्स घटना पछि बालिकाको परिवार र टोल छिमेक शोकाकुल परेका छन्। यस्ता जघन्य घटनाका कारण बालिकाहरु असुरक्षित रहेकोमा स्थानीय सर्वसाधारण निकै त्रसित बनेका छन्।