काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
चीन सरकारलाई नेपालको तर्फबाट एक जोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले विहीबार सो कुरा बताएका बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले दुई देशबीचको परम्परागत सम्बन्धलाई गैंडा उपहारले थप मजबुत बनाएको बताउनुभयो ।
भृकुटी र अरनिकोबाट शुरु भएको नेपाल–चीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालकालागि चीनका राजदूत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भन्नुभयो– “भद्र र रुपसी चीनमा आफ्नै घरजस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् ।”
वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं,” प्रधानमन्त्रीओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताउनुभएको छ । साइवेरियादेखि श्रीलंकासम्मका चरा नेपालमा प्रजन्कालागि आउनु त्यसैको एउटा नमुना भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
दुई वर्षभन्दा कम उमेरका भद्र र रुपसीलाई चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।