
काठमाडौं–नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले गरिमा देखाउनु पर्नेमा नागरिकलाई तर्साउँदै नहिड्न प्रधामनन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको घटना सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै गिरीले निरीह व्यक्तिमाथि तागत नदेखाउन सुझाव दिएका हुन् ।
‘प्रधानमन्त्रीज्यु, दक्षिण एसियाका शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री ओलीले गरिमा देखाउने बेला हो, कुलप्रशाद जस्तो साधारण नागरिकलाई तागत देखाउने होइन । एयरपोर्टमा हिडेको मानिसलाई विनाकारण ल्याएर छाडन मिल्दैन’ गिरीले प्रतिनिधि सभाको बिहीवारको बैठकको विशेष समयमा भने ।
गिरीले उपकुलपतिलाई विदेश जानबाट रोकेर सरकारले नागरिकलाई तर्साउने काम गरेको आरोप लगाए ।
‘उपकुलपतिलाई धरपकड साधारण कुराभित्र लोकतन्त्रको परिभाषा लुकेको छ, लोकतन्त्रमा सरकार जनतासंग डराउँछ, तानशाहीमा सरकारसँग जनता डराउँछ’ गिरीले भने, ‘कुलप्रसाद कोइरालाको समस्या जनतालाई तर्साउने कुरामा सीमित छ । तर तर्साइहाल्ने अबस्था पनि छैन ।’
प्रधानमन्त्री ओलीले नै कुलप्रसादलाई फोन गरेर उनीमाथि भएको दुव्र्यवहार सम्बन्धमा कुरा गर्नुपर्ने गिरीले बताए ।