
काठमाडौं – थाइल्यान्डको थाम लुआङ गुफामा अन्डर १६ फूटबल टीमका सदस्य र उनीहरूका प्रशिक्षक १८ दिनसम्म फसेको र उनीहरू उद्धार गरिएको कथामा हलिउड फिल्म बन्ने भएको छ ।
प्योर फ्लिक्स स्टुडियोले फिल्म निर्माणको तयारी गरिरहेको छ । अनि गुफाको जुन च्याम्बरमा किशोरहरू फसेका थिए, त्यसलाई संग्रहालय बनाइनेछ । उक्त संग्रहालयमा उद्धार अभियानमा प्रयोग गरिएका उपकरण र किशोरहरूको कपडाको प्रदर्शनी गरिनेछ ।
उद्धार अभियानमाथि बन्ने फिल्ममा ७०० करोड रुपैयाँजति खर्च हुने अनुमान गरिएको छ ।
प्योर फ्लिक्स स्टुडियोका सीईओ र सहसंस्थापक मिसेल स्कटले आफ्नी पत्नी सार्जेन्ट समन कुननको साथी भएको बताए । उद्धार अभियानका क्रममा कुननको मृत्यु भएको थियो ।
स्कटका अनुसार, उनी अभियानमा संलग्न केही गोताखोर र गुफामा फसेका किशोरका आमाबुवासँग लगातार सम्पर्कमा थिए । स्कट आफैं चार दिनसम्म थाम लुआङ गुफाबाहिर उद्धार दललाई सहायता गरिरहेका थिए ।
यस फिल्ममार्फत मानिसहरूलाई अरूलाई सहायता गर्नुपर्ने सन्देश आफूले दिन चाहेको स्कटको भनाइ छ । उनका अनुसार, फिल्ममा किशोरहरूलाई शुरूमा खोज्ने दुई गोताखोरहरूको विशेष भूमिका हुनेछ ।
एजेन्सी