
काठमाडौं– हमास लडाकु समूहविरुद्ध गाजामा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो आक्रमण गरिएको इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले बताएका छन् ।
इजरेली प्रतिरक्षा बल (आइडीएफ) ले बेत लाहियास्थित एउटा बटालियन मुख्यालय, उत्तरी गाजास्थित एउटा प्रशिक्षण केन्द्र र अस्त्र भण्डारण लगायत हमास समूहका अखडाहरूलाई निशाना बनाइएको जनाएको छ ।
एउटा भिडिओ वक्तव्यमा नेतन्याहुले भनेका छन्, ‘रक्षामन्त्री, प्रधान सेनापति र उच्च सुरक्षा अधिकारीहरूसँगको परामर्शपछि हामीले हमासको आतंकवादविरुद्ध कडा कदम चाल्ने निर्णय गरेका छौँ।’
इजरेलमा रकेटहरू प्रहार गरिएपछि जवाफी आक्रमण गरिएको उनले बताए । आवश्यक परे थप कारबाही गरिने उनको भनाइ छ । तर प्यालेस्टिनीहरूले एउटा युद्धविराम सहमति गरिएको बताएका छन् ।
इजिप्ट र अन्तर्राष्ट्रिय समुदायको प्रयत्नमा एउटा युद्धविराम सम्झौता भइसकेको प्यालेस्टिनी अधिकारीहरूले बताएका हुन् ।
प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजा शहरमा गरिएको एउटा हवाई आक्रमणबाट दुईजनाको मृत्यु भएको र १२ जना घाइते भएको बताएका छन् । इजरेलमा प्रहार गरिएका ९० भन्दा बढी रकेटमध्ये एउटाबाट तीनजना इजरेली घाइते भएका छन् ।