काठमाडौं – बेलायतकी प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघसँग सम्झौता गरिरहनुभन्दा उसमाथि मुद्दा हाल्न डोनल्ड ट्रम्पले सुझाव दिएको बताएकी छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रवार संयुक्त पत्रकार सम्मेलनमा मेलाई सुझाव दिएको बताएका थिए तर उनलाई त्यो अति नै ‘कठोर’ लागेको बताइन् ।
बीबीसीका एन्ड्रु मारले त्यो सुझाव के थियो भनी सोध्दा उनले जवाफ दिइन्, ‘उनले मलाई युरोपेली संघविरुद्ध सम्झौता नगरी मुद्दा हाल्न भने ।’
मेले ब्रेक्जिटका सम्बन्धमा आफूले बनाएको योजनाको प्रतिरक्षा गर्दै आलोचकहरूलाई त्यसको समर्थन गर्न आग्रह गरिन् ।
उनले यो योजनामुताबिक बेलायतले अन्य मुलुकसँग व्यापार सम्झौता गर्न पाउने, मानिसको स्वतन्त्र आवागमन र युरोपेली अदालतको क्षेत्राधिकारलाई अन्त्य गर्ने बताइन् ।
बिहीवार प्रकाशित श्वेतपत्रमा मन्त्रिपरिषद्ले ब्रेक्जिटपश्चात् व्यापार कसरी हुन्छ भनी गरेको सहमतिको विस्तृत विवरण दिइएको छ ।
ट्रम्पले युरोपेली संघलाई कसरी ह्यान्डल गर्ने भन्ने सल्लाह दिए त भन्ने प्रश्नमा मेले भनिन्, ‘रमाइलो कुरा त उक्त पत्रकार सम्मेलनमा राष्ट्रपतिले नहिँड्न सुझाव दिएका थिए ।’
‘ट्रम्पले यस्ता सम्झौताबाट बाहिरिनु हुँदैन किनकि त्यसपछि अड्किइन्छ भनेका थिए । त्यसैले हामी सबै मिलेर बेलायतको हित हुने गरी राम्रो सम्झौता गरौं,’ मेले भनिन् ।
बीबीसीबाट