
काठमाडौं – फूटबल विश्वकपको फाइनलमा फ्रान्स र क्रोएसियाबीचको प्रतिस्पर्धामा ५३औं मिनेटमा केही रुसी प्रदर्शनकारी महिलाहरू मैदान प्रवेश गरेका छन् ।
महिलाहरूले रुस सरकारको विरोधमा प्रदर्शनका लागि यो कदम उठाएका थिए जसकारण खेल लगभग दुई मिनेट रोकियो । यो प्रदर्शनको जिम्मेवारी रुसको महिला संगठन पुस्सी रायटले लिएको छ ।
पुस्सी रायटका तर्फबाट तीन महिला र एक पुरुषले आफ्नो संगठनको आवाज सुनाउन यो कदम उठाएका हुन् । खेलमा बाधा गर्नेहरूलाई प्रहरीले पक्रेर मस्को प्रहरी कार्यालय लग्दा यो संस्थाले फेसबूक पोस्टमार्फत घटनाको जिम्मेवारी लिएको थियो ।
पुस्सी रायट खासमा मस्कोस्थित महिलाहरूको एक रक ब्यान्ड हो । यो ब्यान्ड आफ्ना गीत र भिडियो भन्दा पनि विवादका लागि संसारभरि कुख्यात छ । सात सदस्य भएको यो समूह सन् २००१ मा स्थापना भएको थियो । आफ्नो ओपनिङ
पर्फर्मेन्समै समूहले भ्लादिमिर पुटिन र चर्चको कट्टरपन्थका विरुद्ध आवाज उठाउन थालेको थियो ।
पुस्सी रायटले खेलमा अवरोध ल्याउँदा खेलको अत्यन्त महत्त्वपूर्ण क्षण आएको थियो । त्यतिखेर क्रोएसिया १–२ गोलले पछि परेको भएपनि उसले कमब्याक गर्ने सम्भावना थियो ।
यो प्रदर्शनले क्रोएसियाली टीमको एकाग्रता भंग गरिदिएको र त्यसलगत्तै लगातार दुई गोल खाएर क्रोएसियाको नियन्त्रणबाट खेल बाहिरिएको खेल पण्डितहरूको दाबी छ ।
खास कुरा त के भने सुरक्षाकर्मीहरूले यी प्रदर्शनकारीहरूलाई पक्रिनुअघि नै क्रोएसियाका खेलाडी देजान लभ्रेनले एक प्रदर्शनकारीलाई समातेर भुइँमा लडाइदिए ।
म्याचको सेकेन्ड हाफमा तीन महिला र एक पुरुषले फील्डभित्र प्रवेश गर्दा अधिकारीहरूको जस्तो लुगा लगाएका थिए । त्यसैले सुरक्षाकर्मीहरूलाई कदम उठाउन समय लाग्यो ।
सुरक्षाकर्मीहरू उनीहरूलाई पक्रिनका लागि मैदानमा दौडँदा प्रदर्शनकारीहरू मैदानको बीच भागमा पुगिसकेका थिए । केही प्रदर्शनकारीले खेलाडीसँग हात पनि मिलाए ।
यसअघि पुस्सी रायटले फेब्रुअरी २०१२ मा मस्कोको एक चर्चमा चढेर तत्कालीन प्रधानमन्त्री पुटिन राष्ट्रपति छानिएकोमा विरोध गरेका थिए । उक्त विरोधपछि पुस्सी रायटका सबै सदस्यलाई पक्राउ गरेर कारागार पठाइएको थियो । रुसको
एक अदालतले उनीहरूलाई दोषी ठह–याएर सजाय दिएको थियो ।
रुसमा यो समूहलाई दोषी बतायँदा संसारका अनेकौं देशमा विरोध भएको थियो र कैयौं गैरसरकारी संस्थाले यसलाई अभिव्यक्ति स्वतन्त्रताको हनन मानेका थिए ।
एजेन्सी