
काठमाडौं – बेलायतका विद्यालयमा पढ्ने भारतीय बालबालिकाको विवाह रोक्नका लागि अचम्मको तरिका अपनाइएको छ । त्यहाँ विद्यार्थीहरूलाई चम्चा बाँडिएको छ र त्यसलाई अन्डरवेयरमा लुकाउन भनिएको छ ।
जबर्जस्ती बिहे गराउनका लागि बच्चाहरूलाई उनीहरूका आमाबुवाले भारत वा एसियाका अन्य देश लग्दा विमानस्थलमा मेटल डिटेक्टर भएका कारण अलार्म बज्ने र बच्चाहरूले सुरक्षाकर्मीसँग एकान्तमा कुरा गर्ने अवसर पाउने विद्यालयको लक्ष्य हो ।
लीड्सस्थित कोअपरेटिभ एकेडमीकी हरिन्दर कौरका अनुसार, बेलायतमा विदेश लगेर भारतीय बच्चाहरूलाई जबर्जस्ती बिहे गराउने घटना बढेको छ । त्यसैले बच्चाहरूलाई जागरुक गराउनु जरूरी छ ।
विदेशमा गएर बिहे गर्नुपर्ने डर भएका विद्यार्थीले यो तरिका अपनाएर बच्न सक्ने उनको भनाइ छ ।
हरिन्दर कौरका अनुसार, ६ महिनाको बिदामा स्कूल प्रशासन र विद्यार्थीको परिवारबीच कुनै सम्पर्क हुँदैन । परिवार विदेश जान्छ अनि त्यहीँ आफ्नो बच्चाको जबर्जस्ती बिहे गरिदिन्छ र फर्केर आउँछ ।
सन् २०१७ मा फरेन अफिसको जबर्जस्ती बिहे इकाइले ८२ मुद्दामा भारतसँग लिंक रहेको पत्ता लगाएको थियो ।
पाकिस्तान, बंगलादेश, सोमालिया र भारतमा लगेर बच्चाहरूलाई जबर्जस्ती बिहे गराइने गरेको इकाइले पाएको थियो ।
एजेन्सी