
काठमाडौं– पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतीय राजदूतमा सिफारिस गर्ने सरकारी निर्णय संवैधानिक व्यवस्थाअनुसार विवादित बन्ने भएको छ ।
संविधानमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त भइसकेको व्यक्ति सरकारी सेवाका लागि ग्राह्य नहुने उल्लेख छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमवार बसेको मन्त्रिपरिषद बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतको राजदूतका लागि नियुक्त गर्न सिफारिस गरेको बताए ।
मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि संसदीय सुनुवाई विशेष समितिले सुनुवाइ गरेर सहमति जनाएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । उप्रेती २३ कात्तिक २०६३ देखि २२ कात्तिक २०६९ सम्म निर्वाचन आयोगको आयुक्त थिए भने त्यसपछि १ जेठ २०७२ सम्म प्रमुख आयुक्त थिए ।
संविधानको धारा २४५ को उपधारा ८ मा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने व्यवस्था छ । ‘निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन,’ संविधानको धारा २४५ को उपधारा ८ मा भनिएको छ । संविधानविद् भीमार्जुन आचार्य संविधानको प्रावधानअनुसार निर्वाचन आयोगको प्रमुख आयुक्त भइसकेको व्यक्तिलाई राजदूतमा नियुक्तिका लागि सिफारिस गर्नु उपयुक्त नभएको बताउँछन् ।
‘मैले संविधानको प्रावधान हेरेँ । सर्सर्ति हेर्दा नमिल्ने देखिन्छ । तर राजदूतलाई सरकारी सेवा मान्ने कि नमान्ने भन्नेचाहिँ बहसकै विषय छ,’ आचार्यले लोकान्तरसँग भने, ‘यस विषयमा थप अध्ययन गरेपछि मात्र थप टिप्पणी गर्न सकिन्छ ।’ यद्यपि सरकारी तलब सुविधा खाने सबै पदलाई सरकारी सेवा मान्नु पर्ने उनको तर्क छ ।
संवैधानिक कानूनका जानकार एकजना बरिष्ठ अधिवक्ताले निर्वाचन आयोगको पूर्वप्रमुख भइसकेका व्यक्तिलाई राज्यकोषबाट लाभ लिने पदमा नियुक्ति गर्दा आयोगको सदाचारमा प्रश्न उठने बताए ।
‘स्वतन्त्र निर्वाचन गराउने संवैधानिक निकायको प्रमुख भइसकेको व्यक्तिलाई लाभको पदमा नियुक्ति दिदा आयोगको इन्टिग्रीटीमा प्रश्न उठछ,’ नाम उल्लेख नगर्ने सर्तमा ती वरिष्ठ अधिवक्ताले लोकान्तरसँग भने, ‘यस्तो परिपाटीले भोलिको दिनमा अबकासपछि राजनीतिक नियुक्ति या लाभको पदमा जानको लागि अमुक राजनीतिक दललाई फेवर गर्ने गलत संस्कार बस्न सक्छ ।’ तर ती अधिवक्ताले राजदूतको पद सरकारी पद या राजनीतिक नियुक्ति भन्ने विषयमा स्पष्ट परिभाषा हुनुपर्ने उल्लेख गरे ।