
काठमाडौं– जुम्लामा आमरण अनशनरत त्रिवि शिक्षण अस्पताल महाराजगंजका प्रा. डा. गोविन्द केसीको जीवन रक्षा र माग पूरा गराउन डाक्टरहरूले देशभरिका सरकारी तथा निजी स्वास्थ्य संस्थामा बिहीबार आकस्मिक बाहेकका उपचार सेवा नदिने भएका छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै २० दिनदेखि डा. केसीको समर्थनमा आज देशभरका सरकारी तथा नीजि अस्पताल, नर्सिङ होम, क्लिनिकमा आकस्मिकबाहेकको स्वास्थ्य सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ ।
केसीको स्वास्थ्य अत्यन्तै जोखिममा परेपछि बाध्य भएर अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्नुपरेको चिकित्सक संघले जनाएको छ । सरकारले अझै आफ्ना माग पूरा नगरे हड्ताल लम्ब्याउने संघले जनाएको छ ।
यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको छ । बुधबार बसेको नेकपाको आकस्मिक बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै बिहीबार हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो ।