०७ असार २०८३, आइतबार

टिचिङबाट गोविन्द केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो

टिचिङबाट गोविन्द केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो

काठमाडौं–प्राध्यापक डाक्टर गोविन्द केसीले केपी ओली नेतृत्वको सरकारले आफूलाई अपहरणको शैलीमा  जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालबाट बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै केसीले इच्छाविपरित आफूलाई बल प्रयोग गरी ल्याइएको भन्दै भत्सर्ना गरेका छन् । 

‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ’, केसीले विज्ञप्तिमा भनेका छन्, ‘ त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु । ’

उनले आफ्नो  सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमारहेका नेपालीहरूप्रति आभार व्यक्त गर्दै जुम्लामा आज प्रहरीसँग भएको झडपमा घाइते भएकाहरुको सीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले घटनाका दोषीहरूलाई कारवाहीको माग समेत गरेका छन् । केसीलाई काठमाडौं ल्याउन गएको सरकारी टोलीलाई केसीका समर्थकले अवरोध गर्ने क्रममा भएको झडपमा केसी समर्थक एक दर्जन घाइते हुनुका साथै एक प्रहरीसमेत गम्भीर घाइते भएका थिए । 

केसीले आफ्नो माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने बताउँदै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि आह्वान समेत गरेका छन् । 

यसैबीच केसीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न बिहिबार साँझ नै साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र र अभिनेत्री मनिषा कोइराला  अस्पताल पुगेका थिए । 

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरू,

चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ । त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु । 

यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु । सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।  ज्यादतीमा संलग्न  हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु ।

माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु । साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु ।

प्रा.डा. गोविन्द केसी
शिक्षण अस्पताल, महाराजगञ्ज ।
२०७५/४/३

कमेन्ट गर्नुहोस्