
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्ववकिल माइकल कनले ट्रम्पले प्लेबोइ म्यागजिनकी पूर्वमोडलसँग रकमबारे छलफल गरिरहेको कुरा गोप्य रुपमा रेकर्ड गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
त्यस्ता रेकर्डहरू यो वर्षको शुरूमा संघीय अनुसन्धान निकाय एफबीआइले कनको कार्यालयमा छापा मार्दा फेला परेको बताइएको छ । उक्त रेकर्डिङमा ट्रम्प र कनले क्यारेन मक्डुगललाई रकम तिर्ने विषयमा छलफल गरिरहेका न्यूयोर्क टाइम्सले जनाएको छ ।
शुक्रवार ट्रम्पका हालका वकिल रुडी जुलियानीले न्यूयोर्क टाइम्सलाई राष्ट्रपति र कनबीच मक्डुगललाई पैसा दिनेबारे छलफल भएको बताएका हुन् । तर पैसा भने कहिल्यै पनि नपठाइएको र ट्रम्पले कुनै गल्ती नगरेको उनले बताएका छन् ।
न्याय मन्त्रालयले ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दाबी गर्ने ती महिलालाई तिरिएको रकमबारे छानबिन गरिरहेको जनाएको छ ।