ललितपुर, ५ फागुन — ललितपुरको शंखमूलस्थित वाग्मती किनारमा गैरआवासीय नेपाली (एनआरएन)को सहयोगमा निर्माण हुँदै गरेको शंखमूल पार्क निर्माण प्रक्रिया अवरुद्ध भएको छ ।
शंखमूलको ललितपुरतर्फका स्थानीय संघसंस्था र राजनीतिक दलले पार्कअगाडिबाट बाटो निर्माण गर्नुपर्ने माग अघि सारेपछि एक महिनादेखि पार्क निर्माणको काम अलपत्र भएको हो ।
एनआरएनले करीब दुई करोड रुपैयाँ संकलन गरी पार्क निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । शंखमूलको वाग्मती किनारस्थित ३२ रोपनी क्षेत्रफलमा उक्त पार्क निर्माणको काम आधाआधी सम्पन्न भइसकेको छ ।
नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौड्याल र एनआरएनका अध्यक्ष शेष घलेले संयुक्त रूपमा २०७१ साल असोजमा पार्कको शिलान्यास गरेका थिए ।
पार्क निर्माण गर्दा स्थानीय समुदायसँग कुनै छलफल नगरी निर्माण प्रक्रिया अगाडि बढाएको भन्दै शंखमूलका स्थानीयहरूले विरोध जनाएका हुन् । पार्कअगाडिबाट पक्की बाटो निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।
स्थानीयको विरोधपछि शंखमूल निर्माणको ठेक्का लिएका स्पेस क्राफ्ट कन्स्ट्रक्सन प्रालिले एक महिनादेखि निर्माण प्रक्रिया रोकेको छ ।
‘पार्क निर्माण शुरु गर्दा स्थानीयको कुनै विरोध नभएको र त्यहीअनुसार नै मास्टरप्लान अनुसार निर्माण प्रक्रिया अगाडि बढाएको थिएँ,’ स्पेस क्राफ्ट निर्माण कम्पनीका प्राविधिक मनोहर त्रिपाठीले भने, ‘अहिले निर्माणको बीचमा स्थानीयले विरोध जनाएपछि हामीले पार्क निर्माण गर्न गत महिनाबाट रोकेका छौं ।’
एनआरएनले वाग्मती सेवा समिति र एकीकृत वाग्मती विकास समितिको सहकार्यमा उक्त पार्क निर्माण थालेको थियो । शंखपार्क निर्माण गर्नका लागि एनआरएनले आफ्ना सदस्यलगायत विभिन्न पक्षसँग गरी करीब दुई करोड रकम आर्थिक संकलन गरेको थियो ।
पार्कमा पाँचवटा घाट, पोखरी र चौबीसै घण्टा पानी बग्ने ठूलो शंख र रुद्रधाराको निर्माण योजना रहेको स्पेस क्राफ्ट निर्माण कम्पनीका त्रिपाठीले बताए ।
च्यासल टोल सुधार समितिका अध्यक्ष स्थानीय श्याम व्यञ्जनकारले पार्क निर्माणबारे स्थानीयसँग कुनै छलफल नगरिएको गुनासो गरे । ‘स्थानीयलाई अत्यावश्यक पर्ने बाटो बनाइदिएमा निर्माण प्रक्रिया अगाडि बढाउन अवरोध हुदैन,’ उनले भने ।
ललितपुर युएनपार्कदेखि च्यासलस्थित फुटबल मैदान अगाडिसम्मको बाटो निर्माण नभई पार्क निर्माण सम्भव नहुने उनले बताए ।
सन् २०१७ को अप्रिलसम्ममा पार्क निर्माण सम्पन्न गर्ने योजना एनआरएनको थियो । निर्माण शुरु गर्नेबेला पार्क अगाडिबाट बाटो जाने कुनै योजना नबनेकोले सोही अनुसार पार्क बनाइएको निर्माण कम्पनीका त्रिपाठीले बताए ।
पुरातात्त्विक महत्त्वको क्षेत्र अगाडि बाटो निर्माण गर्दा यसले त्यहाँको संंरचना अशोभनीय हुने कारणले पनि बाटो निर्माणको योजना नराखिएको निर्माण कम्पनीले जनाएको छ ।
स्थानीय च्यासल युवा क्लबलगायत स्थानीय राजनीतिक दलले एनआरएनलगायत निर्माण पक्षसँग वार्ता गर्न लागेको व्यञ्जनकारले बताए ।