काठमाडौं – सत्तापक्ष पहिला बोल्ने कि प्रमुख प्रतिपक्ष पहिला बोल्ने भन्ने विवादका कारण राष्ट्रियसभा बैठकमा तनाव उत्पन्न भएको छ ।
मंगलवार बसेको राष्ट्रियसभाको बैठकको शुरुमै सत्तारुढ नेकपाका सांसदहरूले उठेर समय मागेका थिए । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उठेर हात उठाएका थिए ।
अध्यक्ष गणेश तिमिल्सिनाले नेकपाका खिमलाल भट्टराईलाई बोल्नका लागि समय दिनुभएको थियो । भट्टराईलाई समय दिएपछि कांग्रेस सांसदहरूले पहिला आफूहरू बोल्न पाउनुपर्ने माग गरेका थिए ।
कांग्रेस सचेतक सरिता प्रसाईंले कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार आफूहरूले बोल्न पाउनुपर्ने बताइन् ।
भट्टराई बोल्नै लाग्दा विपक्षी सांसदहरूले होहल्ला गरेका थिए । अध्यक्ष तिमल्सिनाले चेयरको सम्मानका लागि पनि बस्न आग्रह गरे पनि सत्तारुढ दलका सांसदहरूले बस्न मानेनन् ।
प्रतिपक्षको अवरोधका कारण राष्ट्रियसभा बैठक असार ९ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।