
काठमाडौं – उत्तर कोरियाले प्रमुख क्षेप्यास्त्र प्रक्षेपण स्थल नष्ट गर्न थालेको छ । यो ठाउँ उत्तर पश्चिमी क्षेत्रमा छ ।
अमेरिकाको निगरानी समूहले सुर्हे स्टेसनलाई ध्वस्त गरेको भूउपग्रहीय तस्वीर हेरेको छ । समूहका अनुसार, किम जोङ–उनले अमेरिकासँग गत जुन महिनामा गरेको वाचा पूरा गरेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमबाट इन्जिन परीक्षण स्थललाई नष्ट गर्ने प्रतिबद्धता आएको बताए । तर त्यतिखेर कुन स्थल हो भन्ने उनले प्रस्ट पारेका थिएनन् ।
उत्तरले सुर्हे एक क्षेप्यास्त्र प्रक्षेपण स्थल भएको बताउँदै आएको छ । अमेरिकी अधिकारीहरूले यो ठाउँ ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणका लागि प्रयोग भइरहेको शंका गरेका छन् ।
सोमवार राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा आएको प्रगतिका कारण एकदम खुशी भएको बताएका छन् ।
उनले खुशी जनाउँदै उत्तर कोरियाले विगत नौ महिनामा कुनै क्षेप्यास्त्र प्रक्षेपण नगरेको र कुनै आणविक परीक्षण पनि नगरेको उनले बताए ।
यसअघि उत्तरले कुल ६ आणविक परीक्षण गरेको थियो जसमध्ये अन्तिम परीक्षण अघिल्लो सेप्टेम्बरमा भएको थियो ।
बीबीसीबाट