१४ असार २०८३, आइतबार

पोलमा बाँधेर कुटपिट गरिएकी लक्ष्मीलाई मैले फुकाएकी हूँ : शान्ता

कात्तिक २०, २०७४
पोलमा बाँधेर कुटपिट गरिएकी लक्ष्मीलाई मैले फुकाएकी हूँ : शान्ता
काठमाडौं, २८ मंसिर — राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग तथा मानव अधिकारवादी संस्था इन्सेक प्रतिनिधीको समूहले ‘बोक्सी’को आरोपमा हत्या गरिएकी काभ्रे बाङथली गाविसकी लक्ष्मी परियारको विषयमा अनुसन्धान गरेका छन् ।
मानव अधिकार आयोगबाट नितु गर्तौलासहितको समूह, दलित आयोगका रुपबहादुर परियार लगायतको समूह तथा इन्सेक प्रतिनिधि भोजराज तिमल्सीना लगायतले अनुसन्धान गरेका हुन् ।

हत्या गरिएकी परियारको मुद्दा अर्कै बाटो गएपछि अधिकारकर्मीहरूको ध्यान खिचिएको हो । बोक्सीको आरोपमा कुटपिटको कारणले परियारको ज्यान गएको समाचार सञ्चार माध्यममा आइरहँदा प्रहरीले अनुसन्धानले भने बोक्सीको विषय कतैपनि नआएको बताएको थियो ।

स्थानीय वासिन्दा तथा प्रत्यक्षदर्शीले लक्ष्मीलाई सुर्योदय माविका शिक्षक हिरा लामाले पोलमा बाँधेर बोक्सीको आरोप लगाउँदै मलमूत्रसमेत खुवाएको बयान अधिकारकर्मीहरूलाई दिएका छन् । यद्यपि, केही स्थानीयले चाहिँ सञ्चार माध्यममा संप्रेशित सबै विषयमा पूर्ण सत्यता नभएको बताएकका छन् ।

यसअघि सञ्चार माध्यमलाई दिएको बयानजस्तै लक्ष्मीका १० वर्षीय छोरा र प्रत्यक्षदर्शी शान्ता परियारले अधिकारकर्मीहरूलाई बयान दिएका छन् । शान्ताले पोलमा बाँधिएकी लक्ष्मीलाई आफैले फुकाइदिएको अधिकारकर्मीहरूलाई बताइन् ।

काभ्रेका पत्रकार तथा इन्सेक प्रतिनिधी तिमल्सिनाले आफूहरूको अध्ययन अनुसार लक्ष्मीलाई पोलमा बाँधेर कुटपिट गरेको देखिएको बताउँछन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी अनुसन्धानकर्ता गर्तौलाले यसबारे आफूहरूले अनुसन्धान गरिरहेकोले तत्काल बाहिर केही पनि बोल्न नमिल्ने बताइन् । उनले आफूहरूले प्रतिवेदन नै तयार गरी अनुसन्धानलाई सार्वजनिक गर्ने जानकारी गराइन् ।

यद्यपि, प्रहरीले भने लामाले बोक्सीको आरोपमा मलमूत्र नखुवाएको बताएको छ । आफूहरूको अनुसन्धान अनुसार अहिलेसम्म लक्ष्मीको सामान्य झैँ झगडाको कारणले मात्रै ज्यान गएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन नै गरेर सञ्चार माध्यममा आएजस्तो लक्ष्मीको बोक्सीको आरोपमा ज्यान नगएको बताएको थियो ।

लामा र लक्ष्मीबीचको झगडालाई प्रहरीले सामान्य झगडा भन्दै मिलापत्र गराएको थियो । तर मिलापत्र भएको २४ घण्टा नबित्दै लक्ष्मीको ज्यान गएपछि सो विषय खुलेको हो ।

लामाले गत मंगलवार लक्ष्मीलाई कुटपिट गरेका थिए, प्रहरीले विहीबार मिलापत्र गराएको थियो भने शुक्रबार लक्ष्मीको ज्यान गएको थियो ।

लोकान्तरलाई प्राप्त जानकारीहरू अनुसार लक्ष्मी गाउँमा जँड्याहा महिला थिइन् । लामा र लक्ष्मीको बाटोमा भेट भएपछि उनीहरूबीच लामै भनाभन भएको थियो ।

दुबैले मुख छोडेर तथानाम गाली गरेका थिए । ‘यसै बीच लामाले लक्ष्मीलाई बोक्सीको आरोप लगाउँदै पोलमा बाँधेर कुटपटि गरेका थिए’ स्रोतले भन्यो । लक्ष्मीले नै आफूहरूलाई गाली गरेको बयान लामा परिवारले दिएको छ ।

लक्ष्मीको निधन हुनुभन्दा अघि उनका श्रीमान मिलनले सामान्य भनाभनको क्रममा एक लठ्ठी हानेको स्विकार गरेका छन् । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेकोले कुटपिटको बारेमा अहिलेसम्म विस्तृत जानकारी आएको छैन । एकदुई दिनमै शवको पोष्टमार्टम रिपोर्ट आउने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्