
काठमाडौं – बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरूबारे गरेको टिप्पणीका कारण विवादमा आएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पत्रकार सम्मेलनमा नै आँसु झारेका छन् ।
राजीनामा घोषणाका लागि भनिएको पत्रकार सम्मेलनमा मन्त्री तामाङले आँसु झारेका हुन् ।
गलाअवरुद्ध भएर केहीबेर बोल्न नसकेका मन्त्री तामाङले त्यसपछि आँसु पुछ्दै अघि बोलेका थिए ।
उनले नेपाली नारीहरूप्रति आफूले अत्यन्तै सम्मान गर्ने बताए । 'नेपाली नारीप्रति अत्यन्त सम्मान गर्छु । कोही पनि महिलामाथि हिंसा नहोस् भन्ने चाहन्छु । जो व्यक्ति जुन विषयमा सुधारका लागि लागिरहेको हुन्छ, त्यो व्यक्तिलाई त्यही विषयले लखेट्ने दिन आाउँदो रहेछ ।
के भनेका थिए तामाङले ?
‘... युएस बांगला एयर दुर्घटनामा हुँदा २१ जना डाक्टरहरू यही हाम्रो विमानस्थलमा बिते, कति मार्मिक छ कुरा । आज म कथा खोल्छु, बंगलादेशमा कयौं चेलीहरू हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुछ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु– उसले कहीँ न कहीँ आफूलाई बेच्नै पर्छ । मैले सुनेको छु यति मार्मिक छ कथा । उनीहरुले खोलेका छन् कथा । हामी हाम्रा छोरीलाई विदेश पढ्न पठाउँछौ, तर उसले आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको अवस्था छैन । त्यसैले सबैले यो मुलुकमा एमबीबीएस पढ्न पाउनुपर्छ भन्दा हामी प्लेकार्ड बोकेर निक्कन्छौ, पाइँदैन, हुँदैन भनेर ।’