
काठमाडौं– कर्तव्य ज्यान र जबर्जस्तीकरणी मुद्दामा ललितपुरको नख्खु कारागारमा २० वर्षको कैद भुक्तान गरिरहेका बर्दिया ठाकुरद्वाराका भक्तबहादुर सुनारको २२ बैशाख २०७५ मा पाटन अस्पतालमा मृत्यु भयो ।
बैशाख १९ गते बुधवार साँझ एक्कासी बान्ता हुने तथा ज्वरो आउने समस्या देखियो । कारागारमै सामान्य उपचार गर्दा अवस्थामा सुधार नआएपछि दोस्रो दिन बैशाख २० गते सुनारलाई वीर अस्पतालमा भर्ना गरियो । अस्पताल पुर्याएको दोस्रो दिन २१ गतेसम्म पनि उनको अवस्थामा केही सुधार आएन ।
अवस्था झन्-झन् गम्भीर बन्दै गएपछि चिकित्सकले सुनारलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गर्नुपर्ने बताए ।
वीर अस्पतालमा आईसीयूको बेड खाली नभएकाले २१ गते साँझ सुनारलाई पाटन अस्पतालमा रिफर गरियो । पाटन अस्पतालले आईसीयूमा राखेर उपचार शुरु गरेको केही घण्टापछि बैशाख २२ गते बिहान २ बजे सुनारको मृत्यु भयो ।
सामान्य अवस्थामा उनको मृत्यु वान्ता र अत्यधिक ज्वरोको कारण भएको भन्ने अनुमान गरियो । तर, उनको हत्या भएको तथ्य धेरैपछि मात्रै सार्वजनिक भयो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट सुनारको हत्या भएको पुष्टि भएको छ । उनको हत्याका मुख्य योजनाकार हुन्, अभिषेकराज सिंह ।
बाँकेको नेपालगन्ज घर भएका सिंह फरक-फरक ठाउँमा ३ जनाको हत्या र कर्तब्य ज्यानको मुद्दामा नख्खु कारागारमै जेल जीवन बिताइरहेका कैदी हुन् । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले ३५ तथा सुर्खेत र धनुषा जिल्ला अदालतले २०–२० वर्षको कैद सजाय तोकेको छ ।
यस्तो छ हत्याको कारण
मृतक भक्त बहादुर सुनारले घटना हुनुभन्दा केही दिन अगाडि मात्रै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पत्र लेख्दै नख्खु कारागारको आन्तरिक प्रशासनमा हुने गरेको अनियमितताका बारेमा पत्र लेखेका थिए ।
सोही पत्र फेला परेपछि सुनारको हत्या भएको हुनसक्ने भन्दै कारागार व्यवस्थापन विभागका निर्देशक कृष्ण प्रसाद अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति गठन भयो । समितिले छानबिन पश्चात घटना गम्भीर प्रकृतिको रहेको भन्दै थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट हुनुपर्ने रायसहितको प्रतिवेदन गृहमन्त्रीलाई बुझायो ।
गृहमन्त्री बादलको निर्देशनमा अनुसन्धान थालेको सीआईबीले घटनाको ३ महिना बितेपछि हत्या भएको पत्ता पृष्टि गरेको हो ।
जैविक विष खुवाएर सुनारको हत्या
सीआईबीले गरेको अनुसन्धानबाट सुनारको हत्या जैविक (वनस्पतिजन्य) विष खुवाएर भएको खुलेको छ । अभिषेक राज सिंहकै योजनामा सुनारलाई विष खुवाएर मारिएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण हरि शर्माले जानकारी दिए ।
सुनारको हत्या योजनामा सिंहलाई अन्य २ जना कैदीले समेत सहयोग गरेका थिए । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले ५ वर्ष कैद र २८ करोड रुपैयाँ जरिवानाको सजाय तोकेका सप्तरीको बैरवा गाउँपालिका–८ का मनोज कुमार चौरसिया र चोरी मुद्दामा लतिलपुर जिल्ला अदालतले ४५ दिन कैद र २ लाख ४० हजार रुपैयाँ जरिवानाको फैसला तोकेका ध्रुवकृष्ण शर्माले सुनारको हत्याका लागि अभिषेकलाई सहयोग गरेका सीआईबीको अनुसन्धानबाट खुलेको छ ।