२३ असार २०८३, मंगलबार

कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिनु हुँदैन

साउन ८, २०७५
कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिनु हुँदैन

 चितवन– कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू), रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिन नहुनेमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले जोड दिएका छन् । 

एएफयुले सम्बन्धन दिएको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल छैटौँले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय लेखनाथ न्यौपाने र ठाकुर गैरेले यस्तो बताउनुभएको हो । 

नेता न्यौपानेले आन्तरिक व्यवस्थापनलाई चुस्त पार्दै कृषि शिक्षामा आफैँ सक्षम भएर जानुपर्नेमा यसरी निजी क्याम्पसलाई सम्बन्धन दिँदा कृषि शिक्षामा व्यापारीकरण हुने चिन्ता प्रकट गर्नुभयो । 

सम्बन्धन खारेजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले विगत १५ दिनदेखि यहाँ आन्दोलन गरिरहेका छन् । अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष न्यौपानेले कृषिसँग मुलुकको भविश्य जोडिएको भन्दै यसलाई निजीकरण गर्नु नहुनेमा जोड दिनुभयो । 

केन्द्रीय नेता र शिक्षा मन्त्रालयसँग छलफल गरेर विद्यार्थीको आन्दोलनलाई सकारात्मक ढंगले टुंगाउन आफू चितवन आएको जानकारी दिँदै न्यौपानेले पहिले एएफयूको केन्द्रीय क्याम्पस व्यवस्थित गर्नुपर्ने र त्यसपछि आंगिक क्याम्पसलाई चुस्त पार्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेकपाका अर्का केन्द्रीय सदस्य गैरेले सरोकारवालासँग सामान्य छलफल नै नगरी निजीकरण गर्न खोज्नु सरासर गलत भएको जिकिर गर्नुभयो । यस्ता प्राविधिक शिक्षामा सामान्य जनताको समेत पहुँच बढाउनुपर्ने बेलामा झन् निजीलाई दिँदा सर्वसाधारणको पहुँच नपुग्ने उहाँको तर्क छ । 

अनेरास्ववियूका पूर्वअध्यक्ष गैरेले यस्ता प्राविधिक विषयमा गम्भीर हुन समेत कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई आग्रह गर्नुभयो । 

नेत्रविप्लव चन्द नेतृत्वको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले विद्यार्थीहरुको आन्दोलनमा आफ्नो साथ रहेको उल्लेख गर्दै निजी क्याम्पसलाई सम्बन्धन दिन नहुनेमा जोड दिनुभयो । 

नेपाल विद्यार्थी संघ चितवनका पूर्वसचिव परमेश्वर खनालले निजीकरण अन्त्यका लागि भएको विद्यार्थी र प्राध्यापकको आन्दोलनमा आफ्नो साथ रहेको बताउनुभयो । 

विश्वविद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । सो क्रममा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि किरण रोका, मन्दिप पोखरेल, हेमराज कडायतलगायतले सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो । 

आजपनि विद्यार्थीहरुले सम्बन्धन खारेजीको माग गर्दै कलेजमा धर्नासहित नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले सम्बन्धन खारेजीको माग गर्दै गत असार २६ गतेबाट आन्दोलन जारी राखेका छन् भने प्राध्यापकहरुले पनि साउन पहिलो सातादेखि आन्दोलन थालेका छन् । 

हालैमात्र एएफयूले विभिन्न स्थानमा सातवटा क्याम्पसका लागि सम्बन्धन दिएको विश्वविद्यालयका उपकुलपति प्रा डा इश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । सरकारले मात्रै सबै सेवा दिन नसक्ने भएकाले निजी कलेजलाई सम्बन्धन दिनु परेको उहाँको भनाइ छ । 

यसैबीच आजमात्रै एएफयूले सो विषयमा वार्ताका लागि पूर्वरजिष्टार सूर्यकान्त घिमिरेको संयोजकत्वमा एक समिति बनाएको सार्वजनिक गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्