
काठमाडौं– बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरूबारे गरेको टिप्पणीका कारण विवादमा तानिएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।
मन्त्रालयमा मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दैगर्दा मन्त्री तामाङले आँसु झारेका थिए ।
गलाअवरुद्ध भएर केहीबेर बोल्न नसकेका मन्त्री तामाङले त्यसपछि आँसु पुछ्दै अगाडि बोलेका थिए ।
त्यसक्रममा मन्त्री तामाङले नारीहरूप्रति आफूमा अत्यन्तै सम्मान रहेको बताए ।
राजीनामा घोषणा गर्नुअघि मन्त्री तामाङले कानून निर्माणसहित आफ्नो कार्यकालमा गरेका कामको बारेमा व्याख्या गरेका थिए ।
बंगलादेशमा एमबीबीएस पढ्ने छात्रामाथि शोषण हुने गरेको अभिव्यक्ति उनले शनिवार आयोजित एक कार्यक्रममा दिएका थिए ।
कैदी मृत्यु प्रकरण
कर्तव्य ज्यान र जबर्जस्तीकरणी मुद्दामा ललितपुरको नख्खु कारागारमा २० वर्षको कैद भुक्तान गरिरहेका बर्दिया ठाकुरद्वाराका भक्तबहादुर सुनारको मृत्यु प्रकरणको रहस्य खुलेको छ । उपचारको क्रममा उनको २२ बैशाख २०७५ मा पाटन अस्पतालमा मृत्यु भएको थियो ।
बैशाख १९ गते बुधवार साँझ एक्कासी बान्ता हुने तथा ज्वरो आउने समस्या देखियो । कारागारमै सामान्य उपचार गर्दा अवस्थामा सुधार नआएपछि दोस्रो दिन बैशाख २० गते सुनारलाई वीर अस्पतालमा भर्ना गरियो । अस्पताल पुर्याएको दोस्रो दिन २१ गतेसम्म पनि उनको अवस्थामा केही सुधार आएन ।
अवस्था झन्(झन् गम्भीर बन्दै गएपछि चिकित्सकले सुनारलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गर्नुपर्ने बताए ।
वीर अस्पतालमा आईसीयूको बेड खाली नभएकाले २१ गते साँझ सुनारलाई पाटन अस्पतालमा रिफर गरियो । पाटन अस्पतालले आईसीयूमा राखेर उपचार शुरु गरेको केही घण्टापछि बैशाख २२ गते बिहान २ बजे सुनारको मृत्यु भएको थियो ।
सामान्य अवस्थामा उनको मृत्यु वान्ता र अत्यधिक ज्वरोको कारण भएको भन्ने अनुमान गरियो । तर, उनको हत्या भएको तथ्य धेरैपछि मात्रै सार्वजनिक भयो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट सुनारको हत्या भएको पुष्टि भएको छ । उनको हत्याका मुख्य योजनाकार हुन्, अभिषेकराज सिंह ।
बाँकेको नेपालगन्ज घर भएका सिंह फरक–फरक ठाउँमा ३ जनाको हत्या र कर्तब्य ज्यानको मुद्दामा नख्खु कारागारमै जेल जीवन बिताइरहेका कैदी हुन् । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले ३५ तथा सुर्खेत र धनुषा जिल्ला अदालतले २०–२० वर्षको कैद सजाय तोकेको छ ।
मृतक भक्त बहादुर सुनारले घटना हुनुभन्दा केही दिन अगाडि मात्रै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नख्खु कारागारको आन्तरिक प्रशासनमा हुने गरेको अनियमितताका बारेमा पत्र लेखेका थिए ।
सोही पत्र फेला परेपछि सुनारको हत्या भएको हुनसक्ने भन्दै कारागार व्यवस्थापन विभागका निर्देशक कृष्ण प्रसाद अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति गठन भयो । समितिले छानबिन पश्चात घटना गम्भीर प्रकृतिको रहेको भन्दै थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट हुनुपर्ने रायसहितको प्रतिवेदन गृहमन्त्रीलाई बुझायो ।
गृहमन्त्री बादलको निर्देशनमा अनुसन्धान थालेको सीआईबीले घटनाको ३ महिना बितेपछि हत्या भएको पत्ता पृष्टि गरेको हो ।
सीआईबीले गरेको अनुसन्धानबाट सुनारको हत्या जैविक (वनस्पतिजन्य) विष खुवाएर भएको खुलेको छ । अभिषेक राज सिंहकै योजनामा सुनारलाई विष खुवाएर मारिएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण हरि शर्माले जानकारी दिए ।
केसी र सरकारी पक्ष वार्ता
चिकित्सा शिक्षा सुधारको मागसहित १५ औं पटक आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच मंगलवार साँझ भएको वार्ता ‘सकरात्मक विन्दु’मा पुगेर टुंगिएको छ । यद्यपि मंगलवारको वार्तामा दुवै पक्षबीच कुनै सहमति भने जुट्न सकेन ।
डा. केसीका तर्फबाट वार्तामा सहभागी ओम प्रकाश अर्यालले वाता एकदमै सकरात्मक भएको बताए । केही विषयमा सहमति नजिक पुगेपनि त्यसलाई लिखित रुप दिन समय लाग्ने उनको भनाइ छ ।
अर्यालले अर्को वार्तामा सहमति जुट्न सक्ने संभावना रहेको समेत बताए । वार्ता बुधबार ९ बजे फेरि बस्दैछ ।
कर्मचारी कारबाहीका लागि सिफारिश
राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा दुई हजार ३३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ ।
केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए। केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।
“हामीले छड्के अनुगमनका क्रममा कार्यालयको नियम पालना नगर्ने कर्मचारीलाई कारबाहीको लागि सिफारिश गरेका छौँ”–उनले भने “हामीले गरेको सिफारिशअनुसार कार्यालय प्रमुखले कारबाही गर्नेछ ।” उनका अनुसार नसिहत दिने, सचेत गराउने जस्ता कारबाही गर्न सिफारिश गरिएको छ ।
केन्द्रले ४९ जिल्लाका करीब एक हजार १०२ कार्यालयमा छड्के अनुगमन गर्दा ती कर्मचारी कारबाहीमा परेका हुन् । यसैगरी केन्द्रले लक्ष्यभन्दा बढी कार्यालय अनुगमन गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा करीब ५ सय कार्यालयको छड्के अनुगमन गर्ने भनेता पनि केन्द्रले लक्ष्यभन्दा दोब्बर एक हजार १०२ कार्यालयको छड्के अनुगमन गरेको केन्द्रका उपसचिव समेत रहेका सूचना अधिकारी अर्यालले बताए ।
यस्तै केन्द्रले एक हजार ५२ कार्यालयका नागरिक वडापत्रको अनुगमन समेत गरेको छ ।
राजपाले छान्यो तीन राज्यमन्त्री
राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन् । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् ।
राष्ट्रियसभा बैठक स्थगन
राष्ट्रियसभाको मंगलबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ ।
बैठकको शुरुमै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।
काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा भनाभन भएको थियो । अध्यक्ष तिमिल्सिनाको पटक पटकको आग्रपछि पनि काँग्रेसका सदस्यहरुले आसन ग्रहण नगरेकाले बैठक स्थगन गरिएको थियो ।
प्रतिपक्षले विरोध जनाइरहँदा पनि नेकपाका प्रमुख सचेतक भट्टराईले पछिल्लो समय विकसित राजनीतिक घटनाप्रति सत्तापक्ष जिम्मेवार रहेकोले सदनलाई रोक्नु आवश्यक नरहेको धारणा व्यक्त गर्दै कार्यसूचीमा प्रवेश गर्न अध्यक्षसँग आग्रह गरे ।
प्रदर्शन
प्रा डा गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले मंगलबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो ।
आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए ।
नयाँ बानेश्वरमा भएको विरोधसभामा काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर लिल्ला सभापति दुर्लभ थापालगायतले प्र डा केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गरेका थिए ।
बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले विभिन्न मुलुकबाट नेपालमा आई गरीब र विपन्न परिवारका बालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्ने फ्रान्सका ४२ वर्षीय क्रिस्टोपे गुइलियस र फ्रान्सकै ३८ वर्षीय मिशेल चुपाउलाई सोमबार गौशालाबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरु पर्यटक भिसामा नेपाल आएर कागेश्वरी मनहरा नगरपालिकास्थित एक घरमा बसेर बाल यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुले १० देखि १४ वर्षका बालबालिकालाई फुटबल, चकलेट, खेलकुदका सामाग्री किनिदिनुका साथै पैसासमेत दिने र यौन दुराचार साथै अप्राकृतिक मैथुन गर्ने गरेको ब्यूरोले जनाएको छ ।
उनीहरुबाट हालसम्म आठ जना पीडित भएको उजुरी ब्यूरोमा आएको छ । पक्राउ दुवैलाई जबर्जस्ती करणी महलको बाल यौन दुराचार अपराधअन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।
सुनसहित पाँच भारतीय नागरिक पक्राउ
महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
कार्यालयले सोमबार थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह, हरमिन्दर सिंह र रिजवान आवुल अन्सारीले भन्सार छलेर सुन ल्याएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुटकेशमा लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । जसमध्ये ईश्वर दासबाट ५७८ ग्राम, अवतार सिंहबाट ५७७, अमृतपाल सिंहबाट ९५५, हरमिन्दर सिंहबाट ५७८ र रिजवान आवुल अन्सारीबाट ३४८ ग्राम सुन बरामद गरेको छ ।
प्रहरीका अनुसार उक्त सुनको अहिलेको मूल्य रु एक करोड ४७ लाख ८५ हजार ३२० रहेको छ । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रवक्ता मैनालीले बताए ।
सरकारलाई ३२ हजार नयाँ कर्मचारी चाहिने
संघ, प्रदेश र स्थानीय तहमा निर्धारण गरिएको दरबन्दीअनुसार कर्मचारी परिचालन गर्दा सरकारलाई ३२ हजारभन्दा बढी थप कर्मचारी आवश्यक पर्ने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको तयारी गरिरहँदा ३२ हजार ३ सय ९८ कर्मचारी अपुग हुने देखिएको हो ।
सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि यसअघि अस्थायी संगठन संरचना तयार पारेको थियो । सोही संरचनाअनुसार सरकारले तत्कालका लागि स्थानीय तहमा कर्मचारी खटाएको थियो ।
अस्थायी संगठन संरचनाअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र जिल्ला समन्वय समिति (जिसस)मा गरी ५७ हजार ७ सय ६६ कर्मचारी आवश्यक पर्ने देखिन्छ ।
यस्तै ७ वटै प्रदेशका लागि १ हजार ५ सय ७० कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघ (केन्द्र)मा भने ४५ हजार ८ सय १५ कर्मचारी आवश्यक पर्ने मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको संगठन तथा व्यवस्थापन प्रतिवेदनमा उल्लेख छ ।
यस हिसाबले संघ, प्रदेश र स्थानीय तहमा परिचालन गर्न हाललाई कूल १ लाख २० हजार १ सय ५१ कर्मचारी आवश्यक पर्ने देखिन्छ ।
हाल संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको संख्या ८७ हजार ७ सय ५३ छ ।
सामान्य अंकले बढ्यो शेयर बजार
अनलाइन कारोवार प्रणाली सञ्चालनमा आएपछि केही दिन अन्योलमा रहेका लगानीकर्तालाई सामान्य त्राण दिने गरी शेयर बजारमा सुधार आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोवार मापक परिसूचक नेप्से ४.७७ बिन्दुले बढेर एक हजार १९९.२७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २५२.६८ बिन्दुमा पुगेको छ ।
स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोवार प्रणाली लागू गरेको छ । त्यस्तो व्यवस्थाका लागि धितोपत्र दलाल व्यवसायीकहाँ गएर ‘युजरनेम’ र ‘पासवर्ड’ लिने प्रक्रिया जारी रहेको छ ।
कूल १६० कम्पनीको ११ लाख ८९ हजार ६८९ कित्ता शेयर रु २९ करोड ४१ लाख ८२ हजार ३४८ मूल्यमा खरीद बिक्री भएको छ । सोमबारको तुलनामा हिाजे कारोवार रकममा वृद्धि भएको छ । सोमबार रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरीद बिक्री भएको थियो ।
स्टकका अनुसार दुई उपसमूहको शेयर कारोवार घटेको छ भने नौ उपसमूहको शेयर कारोवारमा बढोत्तरी भएको छ । बैंकिङ ५.२६, व्यापार ०.४२, होटल ४९.४२, विकास बैंक २.८५, जलविद्युत् ३.२४, वित्त २.५९, निर्जीवन बीमा १९.८९, अन्य २.२६, बीमा २०.६१ बिन्दुले बढ्दा उत्पादन १९.७४ र माइक्रोफाइनान्स समूह ०.७ बिन्दुले घटेको छ ।
भार्गवले बोनस शेयर दिने
भार्गव विकास बैंकले आर्थिक वर्ष २०७३÷७४ सम्मको सञ्चित मुनाफाबाट रु दुई करोड ६४ लाखबराबरको बोनस शेयर तथा रु १३ लाख ८९ हजार ४७३ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो बैंकले रु ४७ करोड ५२ लाखको ५.५५ प्रतिशत बोनस शेयर दिन लागिएको जानकारी स्टकलाई गराएको छ ।
नेपाल राष्ट्र बैंकले सो बैंकलाई ‘ख’ वर्गको इजाजत दिएको छ भने बाँके, बर्दिया र दाङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ । बैंकको यही साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो ।
ग्रीसमा लागेको डढेलोमा परी कम्तीमा पचासको मृत्यु
ग्रीसको राजधानीनजिकै समुद्रि इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ ।
धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुले बताएका छन् ।
आगलागी भएको ठाँउमा ६ सयभन्दा बढी अग्नी नियन्त्रक र ३ सय गाडी परिचालन गरिएको थियो ।
ग्रीसका अधिकारीहरूले कैयौँ ठाउँमा फैलिएको उक्त आगलागी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहायताको अपिल गरेका छन् ।
अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई आफ्नो घर छोड्न आग्रह गरेका छन् । आगलागी भएसँगै बाटोहरू बन्द भएका छन् र रेल सेवा पनि रद्द भएको छ ।