
बारा।बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का गल्ला व्यापारी ललन साहका नौ वर्षीय छोरा अंकित साहको फिरौती लिई हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।
बालकको फिरौतीका लागि उनकी आमाले गत ३२ असारमा १५ लाख भारतीय रुपैयाँ भारतको बेतियामा अपहरणकारीलाई बुझाएकोमा त्यसको भोलिपल्टै अंकितको हत्या भएको हो । बालकको हत्या गरी पर्साको जगरनाथपुरको नहरछेउमा फालिएको अनुसन्धानका क्रममा खुलेको छ ।
पर्सा प्रहरीलाई गत ३ साउनमा एउटा बालकको पूरा शरीर सडेर कीरा लागेको शव प्राप्त भएको सूचना आएको थियो । सोही सूचनाका आधारमा नारायणी अस्पतालमा ल्याई आवश्यक अनुसन्धानपछि महानगरपालिकाको सहयोगमा सो शव गाडिएको थियो ।
बारा प्रहरीले अनुसन्धानकै क्रममा गत ६ साउनमा सोही शव अपहृत अंकितको भएको पत्ता लगाएको थियो । अंकितले लगाएको लकेटका आधारमा शव उनको भएको प्रहरीले पहिचान गरेकोे हो ।
तर, मृतक अंकितका परिवारले भने सो शव उनको भएकोमा विश्वास गरेका छैनन् । पीडित परिवारले हत्या भएका बालक अंकित नरहेको बताएपछि बारा प्रहरीले डीएनए टेस्ट गराउन सल्लाह दिएका थिए । शव गलिसकेकाले डीएनएका लागि हड्डी मात्र उत्खनन गरी अनुसन्धान गर्न सकिने प्रहरीले बताएको छ ।
मृतक अंकितका आफन्तले उनको खोजीमा प्रहरीले चासो लिएको अनुभूति आफूहरूले गर्न नसकेको बताएको छ । राजधानी दैनिकमा खबर छ ।