०४ असार २०८३, बिहीबार

फिनल्यान्डका मानिस किन यति धेरै खुशी छन् ?

फिनल्यान्डका मानिस किन यति धेरै खुशी छन् ?

काठमाडौं – एक नृत्यांगना पार्कको बेन्चमा आफ्नो वालेट बिर्सेर हिँड्छिन् । पछि पो उनलाई वालेट बिर्सेको थाहा हुन्छ । तर उनी पटक्कै चिन्तित हुँदिनन् । उनको वालेट बेन्चमा सुरक्षित रहने उनलाई थाहा छ । 

नृत्यांगनाको नाम मिन्ना तरवामाकी हो । उनी फिनल्यान्डमा बस्छिन् । उत्तरी युरोपको यो देश सन् २०१८ को वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा संसारकै सबभन्दा खुशी देश हो ।

ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका सीईओ माइक भाइकिङका अनुसार, फिनल्यान्डका मानिस भावनात्मक रूपमा अन्तर्मुखी हुन्छन् । उनीहरू कहिले पनि खुलेर आफ्नो खुशी वा रिस अभिव्यक्त गर्दैनन् । यहाँका मानिस अलगथलग आआफ्नो जिन्दगीमा मग्न रहन्छन् । 

उनीहरू सन्तुलित जीवन बाँच्छन् । शायद उनीहरूको खुशीको रहस्य यही हो । 

सकारात्मक कुरालाई प्रवर्द्धन गर्ने कम्पनी पोजिटिभारिट ओएले अघिल्लो वर्ष फिनल्यान्डकी नृत्यांगना मिन्ना तरवामाकी लाई फिनल्यान्डको सबभन्दा खुशी हस्तीका रूपमा नामांकित गरेको थियो । 

उनका अनुसार, फिनल्यान्डमा खुशी हुनुको सबभन्दा ठूलो कारण सुरक्षाको भाव हो । कसैले आफ्नो सामान कतै बिर्सेर हिँड्यो भने पनि त्यहीँ भेटिन्छ । कसैले अर्काको सामान छुँदैन । 

उनी आफूलाई यहाँ सबभन्दा धेरै सुरक्षित अनुभव गर्छिन् । तर ह्याप्पिनेस सर्भेको रिपोर्टको उनलाई मतलब छैन । उनका अनुसार, यो रिपोर्ट फिनल्यान्डका मानिसको वास्तविक खुशी देखाउँदैन । 

क्यानडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा वर्ल्ड ह्याप्पिनेस रिपोर्टका सहसम्पादक जोन हेलिभेलका अनुसार, खुशी नाप्नु भनेको भावनात्मक अध्ययन हुँदै होइन । यो रिपोर्टले संसारको रहनसहनको स्तर नापिन्छ । यो
मापदण्डमा फिनल्यान्ड सबभन्दा अगाडि पर्छ । 

उनी भन्छन्, जीवनस्तर राम्रो बनाउनमा कुनै देशको जीडीपी र प्रतिव्यक्ति आयसँगै स्वास्थ्य र लामो उमेर पनि महत्त्वपूर्ण हुन्छ । तर यसबाहेक मानिस एकअर्कासँग कत्तिको जोडिन्छन्, एकअर्कालाई कत्तिको सहायता गर्छन्, उनीहरूको
सहारा बन्छन्, आफ्नो निर्णय गर्न कत्तिको स्वतन्त्र छन् भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । 

यो सबै उदारता र विश्वासका कारण हुन्छ । अनि यसैबाट जीवनस्तर राम्रो हुन्छ । फिनल्यान्डका मानिसमा यो लक्षण सबैभन्दा धेरै पाइन्छ । 

यस वर्ष फिनल्यान्ड बाहिरबाट गएर त्यहाँ बसिरहेका मानिसलाई पनि सर्भेमा संलग्न गरियो । उनीहरू पनि फिनल्यान्डका मूल निवासीजत्तिकै खुशी रहेको पाइयो । 

यसबाट प्रस्ट हुन्छ, फिनल्यान्डमा खुशीको अनुभव एउटै किसिमको समाज भएको कारण होइन । देशको शासनले मानिसलाई खुशी दिन्छ । 

फिनल्यान्ड सरकार दयालुताको भावनामा चल्छ । त्यहाँ मानवअधिकारको धेरै सम्मान गरिन्छ । लैंगिक समानता र रोजगारीलाई त्यहाँ धेरै महत्त्व दिइन्छ । वातावरण नीति पनि सानासाना कुरालाई विचार गरेर तयार पारिन्छ । 

यी सबै कारणले गर्दा त्यहाँका मानिसको जीवनस्तर अन्य देशको मानिसको भन्दा राम्रो छ । त्यसैले त्यहाँ खुशीको वातावरण छ । 

फिनल्यान्डका मानिस आफ्नो भावना दबाउन जान्दछन् । शान्त जीवन मन पराउने हुनाले उनीहरू यसो गर्छन् । दुःखी बनाउने सबै कुराबाट उनीहरू टाढै बस्छन् ।

फिनल्यान्डको यस्तो बयान सुनेर अन्य देशका मानिसलाई पनि त्यहीँ गएर बस्न मन लाग्दो हो । तर त्यहाँ आप्रवास त्यति सहज छैन । बरू फिनल्यान्डको जस्तो वातावरण आफ्नै देशमा बनाउन प्रयास गर्नु ठीक हुन्छ ।

बीबीसीबाट 
 

salt training

कमेन्ट गर्नुहोस्