३० असार २०८३, मंगलबार

डा. केसीसँग वार्ता : सरकारी टोली भन्छ– साढे १ बजे, केसी पक्षधर भन्छन्- बोलाएकै छैन !

साउन ९, २०७५
डा. केसीसँग वार्ता : सरकारी टोली भन्छ– साढे १ बजे, केसी पक्षधर भन्छन्- बोलाएकै छैन !

काठमाडौं –सरकारी वार्ता टोलीले अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिसँग दिउँसो साढे १ बजे वार्ता गर्ने तयारी भइरहेको बताए पनि केसी पक्षधरले भने सरकारले आफूहरूलाई वार्ताका लागि नबोलाएको जिकिर गरेका छन् ।

सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले अनशनरत चिकित्सक डा. गोविन्द केसीका मागका सम्बन्धमा आज दिउँसो साढे १ बजे वार्ता हुने जानकारी दिए ।

उनले लोकान्तरसँग भने, ‘डा. केसी पक्षलाई हामीले मन्त्रालयमा साढे एकबजे वार्ताका लागि बोलाएका छौं । साढे एक बजेबाट नै आजको वार्ता हुन्छ ।’

यता डा. केसी पक्षीय वार्ता टोलीले भने सरकारले अझैसम्म वार्ताका लागि नबोलाएको बताएको छ ।

डा. केसी पक्षीय वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले हिजो बिहानमा पुनः वार्ता गर्ने भनिए पनि अहिलेसम्म वार्ताका लागि नबोलाइएको बताए ।

उनले लोकान्तरसँग भने– ‘आज डा. केसीले राख्नुभएको पहिलो नम्बरको बुँदाको मागको विषयमा सरकारले म्यान्डेटसहित आउने र वार्ता गर्ने  सहमति गर्दै हिजोको वार्ता स्थगित गरिएको थियो, तर हामीलाई अहिलेसम्म वार्ताका लागि बोलाइएको छैन ।’

यता सरकारी वार्ता टोलीका संयोजक बराल भने आफूहरूले केसीको वार्ता टोलीको संयोजकलाई नै जानकारी गराएको दाबी गर्छन् ।

केसीका प्रतिनिधिले बुधवार २२ बुँदे मागपत्र सरकारी टोलीलाई बुझाएका थिए । त्यसमा के–कति सम्बोधन गर्न सकिन्छ भन्नेमा सरकारी टोली म्याण्डेटसहित आउने सहमति गर्दै मंगलबारको वार्ता टुंगिएको थियो ।
सरकारी वार्ता टोलीले उक्त बुँदा प्रधानमन्त्रीसामु प्रस्तुत गरेपछि आजको वार्तामा बुँदागत छलफल हुने जनाइएको छ ।

डाक्टर केसीले अनशन शुरु गरेको आज २६ दिन भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्