
काठमाडाै-महानगरीय प्रहरी परिसर काठमाडौँले असार महिनामा उत्कृष्ट काम गर्ने १२ प्रहरीलाई पुरस्कार प्रदान गरेको छ ।
परिसरले आज एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई सम्मान गरेको हो ।
जसमा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र कमलपोखरीका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्ल र कुलदीप चन्दलाई संयुक्त रुपमा रु ५० हजार, इलाका प्रहरी कार्यालय फर्पिङ र महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक विष्णुप्रसाद सोती र केशव दत्त भट्टलाई संयुक्त रुपमा रु ३५ हजार, महानगरीय प्रहरी प्रभाग कोटेश्वर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब निरीक्षक श्याममणि पोखरेल र विजय भण्डारीलाई संयुक्त रुपमा रु ३० हजार प्रदान गरियो ।
यस्तै महानगरीय प्रहरी वृत्त कमलपोखरी र महिला बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक पद्मबहादुर थापा र निर्मला ओझालाई संयुक्त रुपमा रु २५ हजार, महानगरीय प्रहरी प्रभाग नागढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी हवल्दार बलबहादुर सैजुवाल र पितमलाल तामाङलाई संयुक्त रुपमा रु १५ हजार र महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी जवान सविन थापा र तुलसीराम भट्टराईलाई संयुक्त रुपमा रु १० हजार प्रदान गरियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बंगलादेश बैंकसँग गरेको सम्झौताबाट स्थापना गरिएको उक्त पुरस्कार काठमाडौँमा उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षकसम्मलाई पुरस्कृत गरिँदै आएको छ ।
उक्त पुरस्कार परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेल र बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।