
काठमाडौं– मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेको अनुसन्धानकर्ताहरूले बताएका छन् । फेला परेको भनिएको ताल मङ्गल ग्रहको दक्षिणी ध्रुवमा हिउँमुनि रहेको छ ।
मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस नाम गरेको रेडार उपकरणको प्रयोग गरेर यो पछिल्लो तथ्य पत्ता लगाइएको हो ।
यो अनुसन्धानको नेतृत्व गरेका इटालियन न्याश्नल इन्स्टिट्युट फर एस्ट्रोफिजिक्सका प्रा. रोबर्टो ओरोसेई भन्छन्, ‘सम्भवतः यो त्यति विशाल ताल हैन ।’ मार्सिसले त्यस्तो पानी तालको तहको गहिराइ निर्क्योल गर्न नसके पनि अनुसन्धान टोलीले त्यो कम्तीमा पनि एक मिटर जति हुनसक्ने अनुमान गरेको छ ।
यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए । तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो ।
उनीहरूले फेला पारेर प्रस्ताव गरेको ‘जलाशय’ सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ ।
यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो ।