
रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमापहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेका चार जनाको शव निकालिएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, २७ वर्षका विक्रम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ र सोही गाउँपालिकाको वडा नम्बर ४ का वर्ष ३७ का रेशम खड्का रहेका छन् । मृत्यु हुनेमा सबै कन्टेनरका चालक रहेको प्रहरीले जनाएको छ ।
गएराति करिब पौने १ बजे पहिरो गएको हो । पहिरोमा परि अन्य ५ जना अझै वेपत्ता रहेका घटनास्थलमा रहेका डीएसपी सन्तोष तामाङले बताए । पहिरोमा परेका १२ जनाको उद्धार गरिएको छ ।
चीनसँगको उत्तरी नाका रसुवागढी नजिकको टिमुरे बजारमा पहिरो गएको हो । तामाङका अनुसरा झण्डै ५ सय मिटरमाथिबाट पहिरो आएको छ । अहिले नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् ।
टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पहिरोले पुरेको छ । पहिरोले केही होटल, घर तथा गाडीहरु पनि पुरेको छ । दुईवटा होटल र एक घर पुरिएकाछन् । तीनवटा ट्रकमा क्षति पुगेको छ ।
ना २ ख ८६८९, ना५ख ७००७ र ना२ख ३६६३ नम्बरको ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप विवरण आउन समय लाग्ने रसुवा प्रहरी जनाएको छ ।