
काठमाडौं– शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको सम्बन्धमा बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइले दिएको अभिव्यक्ति सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल गरेर मात्र जवाफ दिने बताएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसदहरुले उठाएका प्रश्नको जवाफका क्रममा मन्त्री पोखरेलले दुर्गा प्रसाई लगायतको बिषयमा छलफल गरेरै जवाफ दिने बताएका हुन् ।
ʻचाहे जुम्लामा भएको घटनाको बिषय, चाहे दुर्गा प्रसाइको बिषय होस, राजीनामा दिनुभएका कानून मन्त्रीको कुरा होस्, या बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको बिषयमा होस्, जवाफ दिनु अगाडि मन्त्रीपरिषद्मा छलफल गरेर प्रष्ट जवाफ दिनेछुʼ मन्त्री पोखरेलले भने ।
त्यसअघि कांग्रेस सांसद पुष्पा भुसाल, डा डिला संग्रौला, लक्ष्मी परियार लगायतले प्रसाइले महिलाको चरित्रमाथि धावा बोलेको भन्दै उनीमाथि कारवाहीको माग गरेका थिए ।
प्रसाइले केही दिन पहिला बंगलादेशमा अध्यनरत छात्रामाथि आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ।