
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् सेवालाई सुरक्षित, विश्वासिलो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन् ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो वार्षिक उत्सव कार्यक्रममा शुक्रवार बोल्दै मन्त्री पुनले विद्युत् सेवा भरपर्दो हुनुपर्नेमा जोड दिए । नांगो तार र काठको पोलका कारण करेण्ट लागेर मृत्यु हुने र घाइतेको संख्या बढिरहेको भन्दै मन्त्री पुनले गम्भीर बन्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
मन्त्री पुनले काठका पोल विस्थापित गर्न ३ अर्ब बजेट आवश्यक रहेको भन्दै त्यसको प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी समेत दिए । ‘वर्षायाममा काठको पोलका कारण दुर्घटना धेरै भइरहेको छ, काठका पोल विस्थापित गर्ने बारेमा मैले प्रधानमन्त्री ज्यूलाई समेत जानकारी गराइसकेको छु । उहाँले मलाई अनुमति दिइसक्नुभएकाले यो प्रक्रिया छिट्टै अघि बढ्छ,’ मन्त्री पुनले भने । उनले यसका लागि बजेटको समस्या समेत नभएको बताए ।
मन्त्री पुनले गुणस्तरीय काम भए÷नभएको बारेमा अनुगमन गर्न समेत कर्मचारीलाई निर्देशन दिए । ‘मैले सुनेको छुु, १ जना निर्माण व्यवसायीले नै ७४ ठेक्का आफैं लिनुभएको छ, उहाँहरूले प्रतिस्पर्धा गरेर लिएपनि काम भने गुणस्तरीय हुनुपर्छ,’ मन्त्री पुनले भने । मन्त्री पुनले समयमै काम सक्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
नेकपाका नेता समेत रहेका मन्त्री पुनले ऊर्जालाई सहभागितामूलक बनाउने दाबी समेत गरे । मन्त्रालयले ३ हजार मेगावाट विजुली उत्पादन गर्ने गरी १६ आयोजनाको छनौट गरिसकेको जानकारी दिँदै मन्त्री पुनले त्यसमा सहयोग गर्न आग्रह समेत गरे । उनले सरकारले छनौट गरेका सबै आयोजनामा नाफा सुनिश्चित हुने दाबी गरे ।