३२ असार २०८३, बिहीबार

मुख्य समाचार : चिकित्सा शिक्षा विधेयक संसद्मा पेस-मेडिकल कलेज मोफसलतिर, बस दुर्घटनामा ८ काे मृत्यु

मुख्य समाचार : चिकित्सा शिक्षा विधेयक संसद्मा पेस-मेडिकल कलेज मोफसलतिर, बस दुर्घटनामा ८ काे मृत्यु

काठमाडौं- सरकार र त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीबीचको सम्झौतापछि चिकित्सा शिक्षा विधेयक शुक्रबार प्रतिनिधिसभामा पेस भएको छ । विधेयक पेस गर्ने क्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीसँगका सम्झौतालाई समेटेर विधेयक पारित गरिने बताए ।

विधेयकमाथि संशोधन हाल्ने समयमा केसीसँगका सम्झौतालाई विधेयकमा प्रवेश गराइने सरकारले जनाएको छ । डा. केसी र सरकारबीच बिहीबार राति भएको नौबुँदे सहमतिमा केसीका माग समेटेर विधेयक पारित गर्ने सम्झौता भएको थियो ।

केसीका माग सम्बोधन गर्नुपर्ने भन्दै संसद् अवरोध गर्दै आएको प्रमुख विपक्षी कांग्रेस पनि केसीसँगको सहमतिपछि संसद् सञ्चालन गर्न सहमत भएको थियो । कांग्रेसले विधेयकमाथि दिएको विरोधको सूचना पनि फिर्ता लिएको छ । कांग्रेसले केसीसँगका सम्झौता आफूले थाहा नपाएको भन्दै प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध गरेको थियो । 

मेडिकल कलेज प्रदेशपिच्छे
सरकार र डा. गोविन्द केसीबीच बिहीबार भएको सहमतिले राजधानीबाहिर स्वास्थ्य शिक्षाको पहुँचलाई निश्चित गरेको छ । सहमतिपत्रको पहिलो बुँदाको २२ औं नम्बरमा भनिएको छ, ‘कुनै पनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा सरकारले यो ऐन प्रारम्भ भएको ५ वर्ष्भित्र कम्तीमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्नेछ ।’

विधेयकमा गरिएको संशोधन इमानदारपूर्वक संसद्मा पास भए प्रदेशैपिच्छे सरकारी मेडिकल कलेज हुनेछन् । हालसम्म प्रदेश १, २ र ७ मा कुनै सरकारी मेडिकल कलेज वा प्रतिष्ठान छैनन् । प्रदेश २ मा मेडिकल कलेज स्थापना गर्न महोत्तरीको बर्दिबासमा जग्गा पहिचान भइसकेको सम्झौतमा उल्लेख छ । प्रदेश ३ मा सबैभन्दा बढी सरकारी मेडिकल कलेज छन् ।

त्यस्तै गण्डकीमा पोखरा र ५ को दाङमा प्रतिष्ठान स्थापना भए पनि शैक्षिक कार्यक्रम सुरु हुन सकेको छैन । कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहे पनि एमबीबीएसको कार्यक्रम सुरु भएको छैन ।, कान्तिपुरमा खबर छ । 

चुम्लिङ्टार बस दुर्घटनामा आठ जनाको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहुँ भन्सार बस्ने २७  वर्षीया कमला श्रेष्ठ, काठमाडाैंका ३० वर्षीय रवीन गुरुङ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारतको बेतिया घर भएका फिरोज मिया रहेका छन् ।

यसैगरी एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये छ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, छाउनी अस्पताल र गजुरी अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

कांग्रेसको अबको मुद्दा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्का सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै विरोध जनाएको छ । डा. गोविन्द केसीको जीवनरक्षा र अध्यादेशअनुसारै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने भन्दै तीन सातादेखि संसद् अवरोध गर्दै आएको कांग्रेसले सरकार र केसीबीच बिहीबार सहमति भएपछि संसदमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने माग अघि सारेको हो ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाका सभामुख र उपसभामुखमा फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । सभामुख र उपसभामुख नेकपाकै भएकाले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार फरक दलको हुनुपर्ने माग कांग्रेसले राखेको हो । 

यसैबीच, काँग्रेसले सरकार र डा गोविन्द केसीबीच बिहीबार भएको सहमतिको स्वागत गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललिपुरमा शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको इमान्दारपूर्वक कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।

सहमतिको इमान्दार कार्यान्वयन हुने विश्वासका आधारमा संसद्मा हालै प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेकप्रतिको विरोधको सूचना पार्टीले संसद्बाट फिर्ता लिएको सो अवसरमा उनले जानकारी गराए ।

आफ्ना सांसदहरूलाई नेकपाको निर्देशन
नेपाल कम्युनिस्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनका लागि सघाउ पुर्याउँदै संसदमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको संसदीय दलको बैठकमा दलका नेता एंव प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँगको सहमतिको जानकारी गराउँदै सहमति कार्यान्वयनमा सहयोग पुर्याउन सांसदहरूलाई निर्देशन दिनु भएको हो ।

सरकारले काठमाडौँ उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्नका लागि अनुमति नदिने गरि गएराति डाक्टर केसीसँग सहमति गरेको थियो । 

घुस लिएको आरोपमा लेखापाल र नासु पक्राउ
पर्साको धोवनी गाउँपालिकाका लेखापाल र नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

आयोग मकवानपुरको टोलीले गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नासु ऐनामुल हक अन्सारीलाई हिसाब फर्छ्योट गरेबापत सेवाग्राहीबाट रु एक लाख १० हजार घुस लिँदै गरेको अवस्थामा शुक्रबार रंगेहात पक्राउ परेको हो ।

वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित लेखापाल यादव बसेको कोठामा अख्तियारको टोलीले छापामारी नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । 

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय आइतबार हुने 
भावी प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन शुक्रबार बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्ने भएको छ । समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको समितिका सदस्य सांसद पार्वत गुरुङले जानकारी  दिए ।

भावी प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । 

कानूनको पुनरावलोकन गर्न सिफारिश
राष्ट्रिय मानव अधिकार आयोगले किसानका हकहितको प्रतिकूल रहेका कानूनहरुको पुनरावलोकन गर्न नेपाल सरकारलाई सिफारिश गरेको छ । आयोगले ‘किसानको अधिकारसम्बन्धी कानून पुनरावलोकन अध्ययन प्रतिवेदन’ का आधारमा आयोगले भएका कानूनको पुनरावलोकनसँगै प्रभावकारी कार्यान्वयमा जोड दिएको हो ।

राष्ट्रिय किसान आयोगको दायरा फराकिलो बनाउन र सबै तहका सरकारलाई जिम्मेवार बनाउन पनि आयोगले सरकारलाई सिफारिश गरेको छ । कृषिमन्त्री चक्रपाणि खनालले आफूले योजनाबद्धरुपमा किसानका समस्या समाधानको योजना बनाएको बताएका छन् ।

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत 
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ  । नेपालको संविधानको धारा ५३ मा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसद्मा पेश गर्ने व्यवस्था छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा  आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रपति कार्यालयका सचिव पनि उपस्थित थिए ।

श्रमसम्बन्धी कार्यदल गठन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई काममा लगाउनेसम्बन्धी कामको सूची तयार गर्न कार्यदल गठन गरेको छ । श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा गठित केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलले कार्यारम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन बुझाउने छ । बैठकले कार्यदलको सिफारिशका आधारमा श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई काममा लगाउन सकिने कामको सूची राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । 

पाकिस्तानमा इमरानको जित
पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ । खानले आफ्नो दल विजयी भएको विहीबार नै घोषणा गरेका थिए ।

सरकार गठनका लागि आवश्यक १ सय ३७ स्थान प्राप्त गर्न नसकेपछि उनले सत्ता सहयात्री खोजी गर्नुपर्ने भएको छ । जितसँगै पूर्वक्रिकेटर खान पाकिस्तानको प्रधानमन्त्री बन्ने संघारमा छन् । 

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी
राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपिएफले रौतहटलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको यो लगातार दोस्रो जीत हो । दोस्रो खेलमा आर्मीले काठमाडौँलाई ८–० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । 

salt training

कमेन्ट गर्नुहोस्