काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्मका नेपाली ओलम्पियनलाई साउन महिनादेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ ।
सुरुआतका रुपमा आइतबार बबरमहलस्थित कार्की बैंक्युटमा आयोजित एक कार्यक्रमबीच ओलम्पियनलाई साउन महिनाको भत्ता उपलब्ध गराइयो ।
८० ओलम्पियनलाई जनही ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन सुरु गरेको थियो ।
यसैबीच पहिलो दक्षिण एसियाली खेलकुद (साग) देखि १२ औं सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । ९४ स्वर्णधारीलाई एक स्वर्णका लािग मासिक ५ हजारका दरले कुल ४० लाख रुपैयाँ वितरण गरियो ।
२०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा ८ महिनाको मासिक ५ हजारका दरले दिनु पर्ने पुरस्कार वितरण गरिएको हो ।
त्यस्तै एसियाली खेलकुदका पदक विजेतालाई पनि २०७४ मंसिर देखि २०७५ असारसम्म ८ महिनाको एक पदकका लागि ५ हजारका दरले रकम प्रदान गरिएको थियो । ८ जनालाई जम्मा ४ लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ ।
यस्तै आर्थिक वर्ष २०७४÷७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पनि पुरस्कृत भएका छन् । ४ सय १२ खेलाडीलाई जम्मा १९ लाख २५ हजार नगद प्रदान गरिएको छ ।
यता राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि पुरस्कृत गरिएको छ ।
गत माघको पहिलो साता सम्पन्न भएको एक महिने प्रतियोगितामा विभिन्न ३० खेल समावेश थिए । ३० खेलकै उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही १५ हजार नगद पाए । तेक्वान्दोको हकममा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष÷महिला खेलाडी चयन गरिएकोले चारैलाई जनही ७ हजार ५ सय नगद पुरस्कार दिइएको जनाइएको छ ।