
काठमाडौं -सन १९९६ मा इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट सदस्य बन्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेको नेपालले अन्तर्राष्ट्रिय मान्यताप्राप्त पहिलो एक दिवसीय खेल आज खेल्दैछ ।
नेदरल्यान्ड्ससँग हुने सो ऐतिहासिक खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यससँगै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने २३औं राष्ट्र बन्नेछ । यसअघि २२ राष्ट्रले यस किसिमको मान्यताप्राप्त खेल खेलिसकेका छन् । त्यसमध्ये १२ राष्ट्र हाल आईसीसीको पूर्णसदस्य छन् ।
केही महिनाअघि जिम्बब्वेमा सम्पन्न एकदिवसीय विश्वकप छनौटमा आठौं हुँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पक्का गरेको थियो । त्यसपछि नेपालले पहिलो एकदिवसीय खेल खेल्न लागेको हो ।
२२ वर्षको अवधिमा नेपालले ५० ओभरका अन्तर्राष्ट्रिय खेल दर्जनौंपटक खेलिसकेको छ, तर ती खेलहरूलाई आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता थिएन । नेपालले खेलेका खेलहरू 'लिस्ट ए'को मान्यतामा सीमित हुन्थे । एकदिवसीय राष्ट्रको मान्यता पाएका टोलीहरू बीच हुने खेलले मात्र अन्तर्राष्ट्रिय मान्यता पाउँछ ।
नेपाल २ खेलको एकदिवसीय सिरिजका लागि नेदरल्यान्ड्स पुगेको हो । दोस्रो खेल शुक्रवार हुनेछ ।
परिचित प्रतिद्वन्द्वी !
नेदरल्यान्ड्स नेपालका लागि चीर परिचित प्रतिद्वन्द्वी हो ।
५० ओभरको खेलमा नेदरल्यान्ड्ससँग अन्तिम भेट आईसीसी विश्वकप छनोटमा भएको थियो । सातौं स्थानको प्ले अफमा भएको भेटमा नेपाल ४५ रनले पराजित भएको थियो ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिपमा नेपालले नेदरल्यान्ड्ससँग उसकै घरेलु मैदानमा २ एकदिवसीय खेल खेलेको थियो । त्यति बेला दुवै टोलीले १-१ खेल जितेका थिए ।
तर टी-ट्वान्टी क्रिकेटमा गत आइतबार नेपाल र नेदरल्यान्ड्स आमनेसामने भएका थिए । नेदरल्यान्ड्सले ब्याटिङ गर्दै गर्दा वर्षा भएपछि खेल अवरुद्ध भएको थियो ।
लर्ड्स मैदानमा नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीच भएको सो त्रिकोणात्मक सिरिजको उपाधि नेपाल र नेदरल्यान्ड्सले बाँडेका थिए ।