
काठमाडौं – विश्व स्तनपान सप्ताहको अवसरमा टेकुस्थित स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ भएको छ ।
विभागमा कार्यरत कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गर्दै स्तनपान कक्षको स्थापना गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । बुधरबार विभाग परिसरमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेल, विभागका महानिर्देशक डा. गुणराज लोहनी र युनिसेफ नेपालका प्रतिनिधि टोमो होजुमीले संयुक्त रूपमा कक्षको उद्घाटन गरेका थिए ।
विभागमा स्थापना गरिएको स्तनपान कक्षमा बच्चा सुताउने ठाउँ, हात धुने ठाउँ राखिएको छ । उक्त कक्षमा दुईजना महिलाले एकैपटक स्तनपान गराउन सक्ने विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले विभागमा रहेको स्तनपान कक्षले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा लिन आउने महिलालाई समेत सहज हुने बताए ।
नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार नेपालमा पूर्णस्तनपान गराउने आमाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्रमा स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको छ ।
यस्तै स्तनपान गराउनुअघि १० जना नवजात शिशुमध्ये ३ जना शिशुलाई घ्यू, मह र चिनी चटाउने गरिएको छ । शल्यक्रिया गरी जन्मिएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापन गर्ने फर्मूला खुवाइने गरेको छ ।
स्वास्थ्य सेवा विभागले नवजात शिशुलाई स्तनपानको अधिकार सुनिश्चित गर्न यस आर्थिक वर्षभित्रमा ३० वटा सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष सञ्चालन गर्ने योजना बनाएको छ ।
विभागका महानिर्देशक डा. गुणराज लोहनीले स्तनपान नगराउँदा शिशुको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भएकाले सार्वजनिक स्थानहरूमा स्तनपान कक्ष निर्माण कार्यलाई प्राथमिकता दिइएको बताए ।
यस्ता छन् स्तनपानका फाइदाः
शिशुलाई स्तनपानले हुने फाइदा
सामान्य स्वास्थ्य र वृद्धि तथा विकास गर्दछ ।
दूधमा रोग निरोधक तत्व हुने भएकाले नवताज शिशुको रोगसँग लड्ने क्षमतामा विकास हुन्छ ।
दूधमा रोग निरोधक तत्व हुने भएकाले नवताज शिशुको रोगसँग लड्ने क्षमताको विकासमा सहयोग पु¥याउँछ ।
नवजात शिशुलाई चाहिने सम्पूर्ण आधार नै आमाको दूध हो । स्तनपानले शिशुलाई तनाव र कष्टबाट मुक्त गराई आराम प्रदान गर्छ ।
स्तनपानले आमालाई हुने फाइदा
गर्भ निरोधकको रूपमा आमालाई मद्दत गर्छ ।
शिशु जन्मनासाथ छातिमा टाँसेर राख्दा आमाको पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्दछ, जसले गर्दा सालनान निक्लन र रक्तश्राव बन्द गर्न मद्दत गर्छ ।
स्तनपान गराउँदा निस्कने हर्मोनले आमाको तनाव कम गर्छ ।