
काठमाडौं– अनसन तोडेर आइसियुमा भर्ना भएका डा. गोविन्द केसीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएपछि डा. केसीलाई आइसीयूबाट वार्डमा सारिएको छ ।
२७ दिन लामो अनशन तोडेपछि बिहीवार डा. केसीलाई आइसीयुमा राखेर उपचार थालिएको थियो ।
अनशनमा बसेका कारण रगतमा पोटासियमको मात्रामा भएको गढबढी, रक्तचापमा आइरहने व्यापक फेरबदल र सेतो रक्तकोशिकाको संख्या न्यून भएकाले उनलाई आइसियुमा राखिएको थियो ।
डा. केसीको स्वास्थ्यमा सुधार आएपछि मंगलबार आइसियुबाट वार्डमा सारिएको डा. केसीका भाइ किशोर केसीले जानकारी दिए । डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई केही दिन वार्डमै राखेर उपचार गराउनुपर्ने बताएका छन् ।
‘उहाँको स्वास्थ्यमा सुधार आएको छ, पूर्ण रुपमा ठिक हुन अझै चार–पाँच दिन अस्पतालमै राखेर उपचार गराउनुपर्छ,’ डा. केसीका भाइ किशोरेले भने, ‘उहाँले स्वास्थ्यमा सुधार भएका बिरामीको उपचारमा फर्कन चाहनुभएको छ, एकसातामा ठिक हुनुभयो भने बिरामीको उपचारमा फर्कनुहुन्छ ।’