
काठमाडौं – एक महिलाले आफ्ना पतिलाई आलु राख्नका लागि घरमुनि एक बेसमेन्ट बनाउन माग राखेकी थिइन् । तर पतिले तलतिर महलै बनाइदिए ।
आर्मेनियामा भएको यो घटनामा पत्नी तोस्याको मागपछि पति लेभोनले २३ वर्षमा भुइँमुनि एउटा महलै बनाए । लेभोनको मृत्यु त सन् २००८ मा भएको थियो तर उनले बनाएको महल हेर्नका लागि ठूलो संख्यामा पर्यटकहरू आउने गरेका छन् ।
भुइँमुनि बनेको महललाई मध्ययुगीन भवनको रूप दिइएको छ । महलभित्र गुफा र नहरहरू पनि छन् । अनि ढोकाहरू पनि स्वागतद्वार जस्ता देखिन्छन् । 
पत्नी तोस्या त्यहाँ पर्यटकहरूलाई महलका सातै कोठा घुमाउँछिन् । उनी यसलाई प्रेमको निशानी बताउँछिन् ।
तोस्याका अनुसार, लेभोनले खन्न शुरू गरेपछि रोकिएनन् । सन् १९८५ मा यो काम शुरू गरेका लेभोनलाई रोक्ने प्रयास गरेको भएपनि उनले काम गरिरहे । लेभोनले घर बनाउने तालिम लिएका थिए ।
यसका लागि उनी दिनको १८ घन्टा काम गर्थे । काम गर्दागर्दै उनी यसो सुत्थे अनि फेरि काममै जोतिन्थे । भगवानले पनि उनलाई यो काममा सहायता गरेको उनी बताउँथे ।
सन् २००८ मा महलको एउटो भित्तो भत्किएपछि लेभोनलाई हृदयघात भयो र ६७ वर्षको उमेरमा उनको मृत्यु भयो । अनि तोस्याले पतिको यादमा यसलाई एक पर्यटकसथल बनाइन् ।
एजेन्सी